Tuesday, May 5

कतारमा भएका हमास नेतालाई नेतन्याहुको चेतावनी

नेपालअखबार,तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कतारमा बस्ने हमास नेताहरूलाई चेतावनी दिएका छन् ।  यी नेताहरू गाजा युद्ध अन्त्य गर्न सबैभन्दा ठुलो बाधा भएको अनि यिनीहरूकै कारण द्वन्द्व लामो हुँदै गइरहेको शनिबार उनले बताएका छन् ।

दोहास्थित हमास पोलिटब्युरोले युद्धलाई अन्तहीन तरिकाले तानिरहेको अनि बन्धकहरूको रिहाइलाई रोकिरहेको पनि नेतन्याहुले बताए । ‘कतारमा बसिरहेका हमासका आतंकवादी नेताहरूलाई गाजाका जनताको मतलब नै छैन । युद्धलाई अन्तहीन रूपमा तान्न सकियोस् भनेर तिनीहरूले प्रत्येक युद्धविराम प्रयासलाई अवरुद्ध गरिरहेका छन् । यदि हामीले तिनीहरूबाट छुटकारा पायौं भने, बन्धकहरूको रिहाइ र युद्धको अन्त्य सम्भव हुनेछ,’  माइक्रोब्लगिङ वेबसाइट एक्समा उनले लेखेका छन् ।

Advertisement

कतारले हमासको शीर्ष नेतृत्वलाई आतिथ्य गरेकोमा इजरायलले कतारको बारम्बार आलोचना गरिरहेकै समयमा नेतान्याहुको यो बयान आएको द टाइम्स अफ इजरायलले बताएको छ ।

यस हप्ताको सुरुमा, नेतान्याहुले कतारमा बसिरहेका हमासका नेताहरूमाथिको आक्रमणलाई सेप्टेम्बर ११ को आक्रमण पछिको अमेरिकी कारबाहीसँग तुलना गरेका थिए । कतारले उनीहरूलाई देशबाट निष्कासन नगरेसम्म वा न्यायको कठघरामा ल्याएसम्म इजरायलले उनीहरू जहाँ भए पनि कारबाही गर्ने बताइएको छ ।

कतारले नेतान्याहुको टिप्पणीलाई लापरबाही भनेको छ । हमास नेताहरूलाई आतिथ्य गर्नु यसको अन्तर्राष्ट्रिय मध्यस्थता भूमिकाको एक हिस्सा भएको कतारको भनाइ छ ।