Thursday, October 30

महामन्त्री पद छाेड्न तयार छु : गगन थापा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र आमूल सुधार आवश्यक रहेको बताएका छन्।

Advertisement

थापाले सामाजिक सञ्जालमार्फत सोमबार सार्वजनिक गरेको प्रस्तावमा भदौ २३ र २४ गते जेन–जी युवाहरूको आन्दोलनपश्चात बनेको राजनीतिक परिस्थिति स्वीकार गर्दै समयमै निर्वाचन सम्पन्न गराउन सबैले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने बताए।

Advertisement

उनले भने, “अन्तरिम सरकार गठन भैसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ।”

थापाले आन्दोलनका क्रममा राज्यद्वारा भएको दमनलाई अक्षम्य ठहर गर्दै छानबिन र दोषीलाई कानुनी कारबाहीको माग दोहोर्‍याए। साथै, आन्दोलनपश्चात भएको विध्वंस र आगजनीका दोषीलाई पनि कानुनी दायरामा ल्याउन निरन्तर दबाब दिनुपर्नेमा जोड दिए।

उनले सङ्घ, प्रदेश र स्थानीय सरकारका संरचनाहरूलाई सुरक्षित राख्दै नागरिक सेवामा कमी नआउने गरी तत्काल पुनर्निर्माण र व्यवस्थापन थाल्नुपर्ने आवश्यकता औँल्याए।

पार्टीभित्र सुधार आवश्यक भएको उल्लेख गर्दै थापाले सदस्यता, सङ्गठन संरचना र नेतृत्व छनोट प्रक्रियासहित सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए। उनले भने, “पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। आवश्यक परे म महामन्त्री पदबाट राजीनामा दिन पनि तयार छु।”

थापाले आन्दोलनका क्रममा मारिएका युवाहरूको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारमुक्त र जनमुखी राजनीतिलाई अघि बढाउने सङ्कल्प व्यक्त गरे।

थापाले अन्त्यमा पार्टी सभापति शेरबहादुर देउवा लगायत कांग्रेस र अन्य दलका नेता तथा कार्यालयमाथि भएको आक्रमणको घोर निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

  • अन्तरिम सरकार गठनसंगै प्रतिनिधिसभा विघटन र निर्धारित समयमा निर्वाचन हुन नसक्दा उत्पन्न हुने रिक्तता राजनीतिक मात्र नभएर संवैधानिक विषय पनि हो।त्यसैले ढिलो चाँडो यो निर्णयको संवैधानिक निरुपण हुने नै छ ।
  • आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भैसकेको छ, निर्बाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आज को मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौं।
  • प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभार स्थानीय सरकार कायम छन् । संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खवरदारी गर्नु नै हाम्रो मूल जिम्मेवारी हो ।
  • ⁠ नेपाली कांग्रेसले भदौ २३ गते राज्यद्वारा गरिएको दमन अक्षम्य ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानून अनुसार दण्डित गराउने प्रतिबद्धता जनाईसकेको छ । त्यसैगरी भदौ २४ र त्यसपश्चातको विध्वंश र आगजनीको वास्तविक क्षति आंकलन गरी दोषिलाई दण्डित गर्न निरन्तर दवाव जारी राख्नुपर्छ ।
  •  संघमा राजनीति कहिले सहज होला भनेर नकुरीकन प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्छ । नागरिक सेवाप्रवाहमा कुनै कमी हुन नदिन कोभिड महाव्याधिमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न अग्रसर हुनुपर्छ । हाम्रो समाज, संविधान र संघीयताको यो आत्मीय पक्षलाई आत्मसात गर्दै पार्टीका सबै तहगत समिति र सदस्यले यथासक्य सघाउन आग्रह गर्दछु ।
  • पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवस कै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं। जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ। हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं।