
नेपालअखबार, गाजा । प्यालेस्टाइनलाई धेरै देशहरूले राष्ट्रको रुपमा मान्यता दिएपछि प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई आफ्ना हतियारहरूसहित आत्मसमर्पण गर्न अपिल गरेका छन् ।
अमेरिकाले अब्बास र अन्य प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरेको थियो जसले गर्दा प्यालेस्टिनी राष्ट्रपति भिडियो लिङ्क मार्फत संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्न बाध्य भए । आफ्नो सम्बोधनमा अब्बासले स्थायी युद्धविरामको आवश्यकतामा जोड दिएका छन् ।
गाजाको प्रशासनमा हमासको कुनै भूमिका नहुने पनि उनले बताए । उनले हमासलाई प्यालेस्टिनी प्राधिकरणलाई आफ्नो हतियार आत्मसमर्पण गर्न समेत आग्रह गरे । ‘हामी हतियार बिनाको सङ्गठित राष्ट्र चाहन्छौँ’ अब्बासले भने ।
यस क्रममा उनले २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको घटनाको पनि निन्दा गरे । ‘हाम्रो र तपाईंको भविष्य शान्तिमा निर्भर छ । हिंसा र युद्ध अब अरू नहोस् ।’ इजरायलका जनतालाई सम्बोधन गर्दै उनले भने ।

