Thursday, July 9

पोखराको सडकमा उत्रिए सहकारी पीडित, प्रमाण जलाउनेलाई कारबाही गर्न माग

नेपालअखबार,पोखरा। पोखराका सहकारी पीडितहरूले मंगलबार सडकमा विरोध प्रदर्शन गरेका छन्।

Advertisement

जेनजी प्रदर्शनका नाममा घुसपैठ गरेर सहकारी ठगीको मिसिल र प्रमाणहरू नष्ट गरेको भन्दै पीडितहरूले सडक प्रदर्शन गरेका हुन्।

Advertisement
Advertisement

पीडितले पोखराको पृथ्वीचोकबाट निकालेको विरोध जुलुस सहिदचोक पुगेको छ।

Advertisement

उनीहरूले कारागारबाट भाग्ने र भगाउनेलाई कारबाही गर, कारागारबाट भागेका सहकारी ठगीका अभियुक्तलाई तत्काल पक्राउ गर, अदालत, पोखरा महानगरको सहकारी शाखा लगायत जलाउनेलाई कारबाही गर, सहकारीको मुद्दा प्राथमिकतामा राखेर फैसला गर लगायतका नारा लगाउनुका साथै प्लाकार्ड बोकेका छन्।

प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालय जलाउँदा सबभन्दा पहिले सहकारी शाखामा आगो लगाएका थिए।

यस्तै, जिल्ला अदालत र उच्च अदालतमा पनि सहकारीको मुद्दा राखिएको फाँटबाट आगो लगाएको पीडितहरूले बताएका छन्।

सहकारी ठगीका अभियुक्तहरू प्रदर्शनमा घुसपैठ गरेर प्रमाण नष्ट गर्न खोजेको पीडितहरूको आरोप छ।

सहकारी बचत पीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले नियोजित रूपमै सहकारीको फाइल जलाइएको बताए।

जेनजीले भ्रष्टाचार विरूद्ध आन्दोलन गर्दा सहकारी ठगीका अभियुक्तहरू घुसपैठ गरेको देखिएको उनले बताए।

‘भ्रष्टाचार विरूद्धको युवाहरूको आन्दोलनमा सहकारी ठगीका अभियुक्तहरू नै घुसपैठ गरेर आफ्नो प्रमाण जलाएको देखिन्छ,’ उनले भने, ‘जेनजीले अब सहकारी पीडितलाई पनि साथ दिनुपर्छ र ठगीका अभियुक्तहरूलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्छ।’