
नेपालअखबार,काठमाडौं । यस्तो सुन्दरता र सम्पदाले भरिपूर्ण देश जहाँ हिमालको पवित्र पानी बेचेर विश्वका जनताको प्याश मेटाउँदै देशको भकारी वैदेशिक मुद्राले भरिन सक्थ्यो। ऋषिमुनिहरूको साधना र योग विश्वभर फैलिँदा नेपाल ज्ञान र आत्मज्ञानको राजधानी बन्न सक्थ्यो।
जहाँ डाक्टर, इन्जिनियर, पाइलट जस्ता प्रतिभा,श्रम र सीप बेचेर होइन, सिर्जना बेचेर देशलाई धनी बनाउन सक्थे।
जहाँ बाढीले बगाएर गएको काठ,बालुवा र ढुङ्गा मात्र नियन्त्रण गरेर निर्यात गर्न सके पनि देशलाई स्वर्णभण्डारमा रूपान्तरण गर्न सकिन्थ्यो।जहाँ दूध–दही, फलफूल र जडीबुटी संसारका रोगीलाई जीवनदायिनी अमृत दिन सक्थे।
जहाँ हिमाल, पहाड र तराईको पर्यटन विश्वकै भण्डार खोल्ने खानी बन्न सक्थे। तर अफसोस! यति सम्पदाको स्वामी भएर पनि हामी भिखारी झैँ बनिरहेका छौँ।नेतृत्वको असक्षमता, भ्रष्टाचारको जाल र स्वार्थको अन्धकारले देशलाई समृद्ध बन्न दिएन।
हाम्रा शासकहरू राष्ट्र र जनता प्रति कहिल्यै जवाफदेही बन्न सकेनन्। जनताले गाँस काटेर दुःखले तिरेको करको रकम,विदेशी ऋण बोकेर ल्याएको भार सबै विकासको नाममा मिलिजुली लुटियो।
जनताले मागेको त न्यूनतम आवश्यकता थियो गाँस, बास र कपासको वातावरण।पेट भरिने अन्न,बस्ने सुरक्षित छाना, ओढ्ने–लगाउने कपडाको वातावरण। तर जनतालाई आधारभूत आवश्यकताबाट टाढा पारेरफजुल सपना बाँडियो, लूटको परम्परा संस्थागत गरियो।
कानुन सुरक्षा दिनुपर्ने साधन हो तर जनतालाई पासो हाल्ने उपकरण बनाइयो। भ्रष्टाचार संस्थागत गरियो, सुनुवाइको ठाउँ हरायो।चारैतिर चर्को करले जनतालाई चपेट्यो।नेता देखि मन्त्रालयसम्म, मन्त्रालयदेखि वडा सम्म घुस र भनसुन बिना जनताको दैनिकी अगाडि बढ्नै सक्दैन।बिरामी हुँदा उपचारका लागि पनि भनसुन, पढ्नका लागि पनि घुस साथै भनसुन।के यस्तै देशको सपना देखेका थिए जनताले?
जहाँ २–२ वटा अन्तर्राष्ट्रिय विमानस्थल खडा गरिन्छ, तर विमान उड्दैन किन? देशको अर्थतन्त्र मात्रै भासिन्छ तर पनि शसकमा पश्चाताप छैन।देशको भूमिमा विदेशी बुट बज्रिदै गर्दा विदेशी समुद्रमा झण्डा फहराएर राष्ट्रपिता बन्ने दौड चल्छ।तर आफ्ना नागरिकलाई सुरक्षित यात्रा गर्ने सडक दिन सक्दैन। एउटा सडक बनाउन सकिने रकममा चार पाँच वटा सडकको योजना बनाइन्छ,तर परिणाम?सबै अधूरा! जनतालाई धुलो, हिलो र जोखिम मात्र बाँकी।सडकको जोखिमले जनता गन्तव्यमा पुग्नुभन्दा अगाडि खोलामा बगिन्छ,पहिरोमा पुरिन्छ। किसानले रगत पसिनाले उत्पादन गरेको अन्न बजारमा पुर्याउन नसकेर कुहाएर फाल्नु पर्छ। तर केही नेता र कर्मचारीहरूको उन्माद घट्दैन, विवेक पलाउँदैन। बरु भ्यू टावर बनाइन्छ,”जनताले रोजगारी पाए” भनेर भ्रम फैलाइन्छ। एउटा कुनामा विगत देखि चलेको रेल बनाएर देखाएर “रेल युग सुरु भयो” भनेर सपना बाँडिन्छ। छाक टार्न नसक्ने अवस्थामा स्वदेश मै ठगिँदै बिदेस पुगेका जनतालाई “चुलो चुलोमा ग्यास” को मृगतृष्णा देखाइन्छ।
तर जनताले खोजेको त केवल गाँस, बास र कपास।यानिकी आधारभूत विकासको वातावरण थियो त्यो न्यूनतम आवश्यकता पनि पूरा भएन।
यसैले जसले जसरी खेले पनि जनता नै जागेका हुन,जनता नै बोलेका हुन। जनताले नै विध्वंस गरेका हुन्। आखिर खेल्नेले पनि जनताको गरिबी भित्र खेले ,
असन्तुष्ट भित्रै खेले,भ्रष्टाचार भित्रै खेले ,केही नेता र कर्मचारीकै अहमता भित्रै खेले। जनताले शासन गर्न आन्दोलन गरेका होइनन् सुधारको निमित्त हो । त्यसैले अब विगतका अपराधको माफी माग्दै तिनै आन्दोलनमा जलेका भग्नावशेषको खरानी हातमा लिई जनता माझ संकल्प गरी देश बनाउने प्रणका साथ अगाडि बढ्दा जनताले ससर्त मौका दिने छन् अनि मात्र सुरक्षित हुने छौ । एकपटक कलंकको दाग पखाल्ने मौका पाउने छौ ।
जनता सँग अझैंआशा बाँकी छ,यदि हामी आफ्नै सम्पदा, सीप र श्रमलाई सही दिशामा प्रयोग गर्न सक्यौँ भने नेपाल अरूको दया होइन,विश्वलाई दया दिने राष्ट्र बन्नेछ।
नेपाल!गौरव, समृद्धि र आत्मनिर्भरताको नाम बन्नेछ। जनता जागेका छन् जनता जागे पश्चात राष्ट्रको पुनर्जागरण हुन्छ। सबैमा विश्वास छ ।