Friday, July 24

इक्वेडरका राष्ट्रपतिको हत्या प्रयासको आरोपमा ५ जना पक्राउ

नेपालअखबार, क्वीटो । इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआलाई लक्षित गरी हत्या प्रयास गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। यो जानकारी देशकी ऊर्जामन्त्री इनेस मान्जानोले दिएकी हुन्।

Advertisement

ऊर्जामन्त्री मान्जानोका अनुसार पूर्वाधार परियोजनाहरूको घोषणा गर्न काना प्रा प्रान्ततर्फ जाँदै गर्दा नोबोआको कारलाई करिब ५०० जनाको समूहले घेरेर ढुङ्गामुढा गरेका थिए। मन्त्रीले पछि कारमा गोली लागेको सङ्केत देखिएको तर राष्ट्रपति भने सुरक्षित रहेको बताइन्।

Advertisement
Advertisement

प्रेसिडेन्सीद्वारा जारी भिडियोमा सयौँ मानिसहरूले गाडीको कारकेड नजिक आउँदा ढुङ्गा प्रहार गरेको देखिन्छ। यस क्रममा केही गाडीका झ्यालहरू फुटेका छन्।

Advertisement

पक्राउ परेकाहरूलाई आतङ्कवाद र हत्या प्रयासको अभियोग लगाइने अधिकारीहरूले बताएका छन्। मन्त्री मान्जानोले राष्ट्रपतिमाथि गोली चलाउनु र राज्यको सम्पत्तिमा क्षति पुर्‍याउनु आपराधिक कार्य भएको बताइन्।

इक्वेडरमा डिजेलमा दिँदै आएको सरकारी अनुदान हटाउने सरकारी निर्णयपछि तनाव बढेको छ। प्रदर्शनकारीहरू, जसमा विशेष गरी आदिवासी समुदायका मानिसहरू छन्, ले सडक अवरुद्ध गरेका छन् र सुरक्षाकर्मीहरूसँग झडप भएका छन्। यसअघि सेप्टेम्बरमा पनि नोबोआको कारकेडमाथि आक्रमण भएको थियो।

राष्ट्रपति कार्यालयले प्रदर्शनमा ‘आतङ्कवादी समूह’ घुसेको दाबी गरेको छ भने प्रदर्शनकारीहरूले सरकारले नयाँ इन्धन नीतिको विरोधलाई दबाउन हिंसात्मक तरिका अपनाएको आरोप लगाएका छन्।
सीएनएन