
नेपालअखबार, काठमाडौं । इसराइल र हमासबीच इजिप्टमा सोमबारदेखि जारी शान्ति वार्ता निष्कर्षमा पुगेको छैन।
इजिप्टको शार्म एल शेखमा सोमबारदेखि अमेरिका, कतार, इजिप्ट र टर्कीको मध्यस्थतामा इसराइल र हमासबीच अप्रत्यक्ष वार्ता भइरहेको छ।
मंगलबारसम्म सहमति हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफ र आफ्नो ज्वाइँसमेत रहेका यसअघिका मध्यपूर्व सल्लाहकार जारेड कुश्नरलाई इजिप्ट पठाउने भएका छन्।
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार ह्वाइट हाउसका अधिकारी र इजिप्टका विदेशमन्त्री बद्र अब्देलतीले विटकोफ र कुश्नर वार्तामा सहभागी हुने पक्कापक्की भएको बताएका छन्।
इसराइल र हमासबीच शान्ति वार्ताका लागि ट्रम्पले २० बुँदे प्रस्ताव तयार पारेका थिए। सेप्टेम्बर २९ मा ह्वाइट हाउस पुगेका इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ट्रम्पले आफूले तयार पारेको प्रस्तावको मस्यौदा दिएर त्यसमा सहमत हुन भनेका थिए।
ह्वाइट हाउसबाट बाहिरिएपछि नेतन्याहूले राष्ट्रपति ट्रम्पको प्रस्तावमा आफू सहमत रहेको बताएका थिए।
ट्रम्पले नै प्रस्ताव गरेको २० बुँदामा सहमति जुटाउन विटकोफ र कुश्नरको उपस्थितीले मद्दत गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन्।
वार्तामै सहभागी हुनका लागि कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी समेत इजिप्ट जान लागेको न्युयोर्क टाइम्सले जनाएको छ।
उनी बुधबार नै त्यहाँ पुग्ने तय भएको कतारी विदेश मन्त्रालयका प्रवक्ताले मंगलबार बताएका छन्। ती प्रवक्ताले वार्ता महत्त्वपूर्ण चरणमा पुगेकाले प्रधानमन्त्रीको उपस्थिति आवश्यक भएको भनेका छन्।
त्यस्तै टर्कीको गुप्तचर विभाग प्रमुख इब्राहिम कलिन पनि वार्तामा सहभागी हुनका लागि त्यसतर्फ प्रस्थान गरेको टाइम्सको समाचारमा उल्लेख छ।
ट्रम्पले राखेको प्रस्तावमा गजामा तत्काल युद्ध अन्त्य गर्ने, हमासले जिवित र मृत सबै बन्धकहरूलाई ७२ घन्टाभित्र छाड्ने प्रस्ताव छ। त्यस अवधिभर इसराइले गजामा जमिन र आकाश दुवैतर्फको आक्रमण रोक्नुपर्ने प्रस्ताव छ। साथै ४८ घन्टाभित्र गजाबाट इसराइली सेना फिर्ता हुनुपर्ने प्रस्ताव पनि ट्रम्पले राखेका छन्।
जिवित र मृतक बन्धकहरूको बदलामा इसराइलले आजीवन काराबास तोकिएका २५० जना प्यालेस्टिनी र २०२३ को अक्टोबर ७ मा पक्राउ परेका १७०० गजावासीलाई जेलमुक्त गर्ने प्रस्ताव छ।
त्यस्तै हमासले छाड्ने एक जना मृतक बन्धकको बदलामा इसराइलले १५ जना मृतक प्यालेस्टिनीको शव पनि हमासलाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव छ।
सिएनएनका अनुसार हमासले युद्धविरामका सर्तहरूमा आंशिक सहमति जनाएको छ।
उसले निःशस्त्रीकरण र गजाको सत्ता सञ्चालनमा भूमिका नखेल्ने भन्ने सर्तमा असहमति जनाएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी १० जना नेपालीसहित १ हजार २०० जनाको हत्या गरेको थियो। त्यतिबेला विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएर गजा पुर्याएको थियो।
तीमध्ये अझै ५० जना बन्धक हमासको नियन्त्रणमा छन्। तीमध्ये पनि २० जना मात्रै जिवित रहेको अनुमान छ।
त्यसयता इसराइलले लगातार गजामा आक्रमण गर्दै आएको छ। इसराइली आक्रमणबाट गजामा अहिलेसम्म झन्डै ६५ हजार मानिसहरूको मृत्यु भइसकेको छ।
यस्तो छ ट्रम्पले प्रस्ताव गरेका २० बुँदा
१. गाजालाई आतंकमुक्त र चरमपन्थी गतिविधिबाट मुक्त क्षेत्र बनाइनेछ।
२. गाजाको पुनर्निर्माण गाजावासीको हितका लागि गरिनेछ।
३. दुवै पक्षले सहमति गरे युद्ध तुरुन्त अन्त्य गरिनेछ।
– इसराइली सेना सहमत रेखासम्म फिर्ता हुनेछ र बन्धक मुक्त गर्ने तयारी हुनेछ।
यस अवधिमा सबै सैन्य कारबाही हवाई र जमिनबाट हुने आक्रमण रोकिनेछ।
४. इसराइले प्रस्ताव स्वीकृत गरेको ७२ घण्टा भित्र सबै बन्धकहरू फिर्ता गरिनेछन्।
५. सबै बन्धक फिर्ता भएपछि इसराइलले २५० आजीवन कैदी र १७०० गाजावासी बन्दीलाई मुक्त गर्नेछ।
-यीमध्ये अक्टोबर ७, २०२३ पछि पक्राउ परेका महिला र बालबालिका पनि हुनेछन्।
-प्रत्येक मृत इसराइली बन्धकको सट्टा १५ जना मृत गाजावासीका शव फिर्ता गरिनेछ।
६. बन्धक फिर्ता भएपछि हमासका सदस्यहरूलाई आममाफी दिइनेछ।
-जसले शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्छन् र हतियार बुझाउँछन्, तिनीहरूलाई माफी दिइनेछ।
-जो गाजाबाट बाहिर जान चाहन्छन्, उनीहरूलाई सुरक्षित बाटो दिइनेछ।
७. सम्झौता स्वीकृत भएपछि तुरुन्तै गाजामा पूर्ण मानवीय सहायता पठाइनेछ।
८. सहायता वितरण संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायमार्फत हुनेछ।
९. गाजाको शासन अस्थायी रूपमा एक प्राविधिक (टेक्नोक्र्याटिक) प्यालेस्टिनी समितिले गर्नेछ।
१०. यो समितिको निगरानी ‘बोर्ड अफ पिस’ नामक अन्तर्राष्ट्रिय निकायले गर्नेछ।
-यो निकायको नेतृत्व र अध्यक्षता डोनाल्ड ट्रम्पले गर्नेछन्।
-अन्य सदस्यहरूमा राष्ट्र प्रमुखहरू र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि रहनेछन्।
११. ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माणका लागि आर्थिक र संस्थागत ढाँचा बनाउनेछ।
१२. ट्रम्पले गाजाको आर्थिक विकासका लागि विशेष योजना घोषणा गर्नेछन्। यो योजना मध्यपूर्वका सफल आधुनिक सहरहरू विकास गर्न सहयोग गरेका विशेषज्ञहरूको टोलीले तयार गर्नेछ।
१३. गाजामा विशेष आर्थिक क्षेत्र (स्पेसल इकोनोमिक जोन) स्थापना गरिनेछ।
१४. कसैलाई गाजाबाट जबरजस्ती निकालिने छैन।
-जो बाहिर जान चाहन्छन्, उनी स्वतन्त्र हुनेछन् र फर्किन पनि स्वतन्त्र हुनेछन्।
-मानिसहरूलाई गाजामा बस्न र राम्रो भविष्य निर्माण गर्न प्रोत्साहित गरिनेछ।
१६. हमास र अन्य समूह शासनमा सहभागी हुन पाउने छैनन्।
-प्रत्यक्ष वा अप्रत्यक्ष कुनै रूपमा शासनमा उनीहरूको भूमिका रहने छैन। सबै सैन्य, आतंक र आक्रमण संरचना जस्तै सुरुङ र हतियार कारखाना — नष्ट गरिनेछ।
-गाजाको निरस्त्रीकरण प्रक्रिया हुनेछ।
१७. क्षेत्रीय साझेदार देशहरूले हमास र अन्य समूहले सम्झौता पालन गर्छन् भन्ने सुनिश्चित गर्ने ज्ञारेन्टी दिनेछन्।
१८. संयुक्त राज्य अमेरिका, अरब र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर अस्थायी अन्तर्राष्ट्रिय स्थायित्व बल (आइएसएफ) स्थापना गर्नेछ।
-यो बल तुरुन्तै गाजामा पठाइनेछ, जसले फिलिस्तीनी प्रहरीलाई तालिम र सहयोग प्रदान गर्नेछ।
-यो बलले जोर्डन र इजिप्टसँग परामर्श गर्दै काम गर्नेछ।
१९. इसराइलले गाजालाई न कब्जा गर्नेछ न आफ्नो भूभागमा मिलाउनेछ।
-आइएसएफले स्थायित्व कायम गरेपछि इस्रायली सेना चरणबद्ध रूपमा फिर्ता हुनेछ।
-फिर्ती तालिका र मापदण्ड आइएसएफ, आइडिएफ, ग्यारेन्टर देशहरू र अमेरिकाबीच सहमतिपूर्वक तय गरिनेछ।
२०. यदि हमासले प्रस्ताव ढिलो गर्छ वा अस्वीकार गर्छ भने पनि सहायता र पुनर्निर्माण अघि बढ्नेछ।