Friday, July 10

छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो

नेपालअखबार, महोत्तरी । तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका चोया तथा कप्टेराले बनेका नयाँ छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पङ्खालगायत सामान अपरिहार्य हुने मैथिल चलनले अहिले यहाँका सबैजसो हटिया ९बजार०मा यी सामग्रीको बजार जमेको हो ।

Advertisement

महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा अहिले यी सामग्रीका छुट्टै बजार जमेका छन् । सदरमुकाम जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा, लोहारपट्टीसहितका बजारमा अचेल सधैँ यी सामान बिक्री भइरहेका छन् ।

Advertisement
Advertisement

मिथिलामा बिन र डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खा बनाउने पुख्र्यौली पेसा मानिन्छ । पर्वविशेषले यस्ता सामग्रीको माग बढ्दा अहिले काम भ्याइनभ्याइ भएको भङ्गाहा–४ रामनगरका ५० वर्षीय काशी मुखिया बिन बताउछन् ।

Advertisement

“अरु बेला यी सामान बिक्दैनन्, प्लाष्टिकका सामान प्रयोग बढ्यो । दीपावली र छठमा बाँसकै भाँडा चाहिने चलनले माग बढेको हो”, काशी भन्छन्, “बाबुबाजेले सिकाएका काम हुनाले मेरो पुस्तासम्मले गर्दैछौँ, छोरा–भतिजाले भने यो काम सिक्न ध्यान दिएनन् ।” पहिलेपहिले दैनिक प्रयोजनमै यी सामान चलाइने हुँदा बाबुबाजेले यही पेसाबाट गुजारा गरे पनि अब भने यसको माग दीपावली र छठमा मात्र हुने गरेको उनको भनाइ छ ।

पर्वविशेषको मागमात्र हुने भए पनि यसबेला यी सामान बनाएर बेचिएको पैसाले झण्डै तीन–चार महिनाको गुजारा चल्ने गरेको बिन र डोम समुदायका पाका व्यक्ति बताउँछन् । “यसैबेला कमाएको नगदले आवश्यकता पूरा गर्छौँ”, छिटीसहितका यी सामान बेच्न गौशालाबजार पुग्नुभएकी बर्दिबास–१ की पारो मरिकले भने, “यही पर्वको कमाइले केही महिनाको गुजारा र धियापुता (घरका ससाना नानीहरु)को खाने, खेल्ने रहर पूरा गर्छौँ ।”

पर्वले गर्दा बाँस खोज्न जाने, फटाउने, चोया र कप्टेरा बनाउने तथा मागअनुसारका सामान बनाउन भ्याइनभ्याइ छ । बनिसकेका सामान बजार पुर्याउनसम्मका काम सकेपछि बल्ल केही नगद हात पर्ने गरेको जलेश्वर–१ का रतन मरिकले बताए । सीप भएका बिन र डोम अहिले दिनरात नभनी काममा छन् । यो क्रम छठपर्व सुरु हुने दिनसम्म चल्छ ।