
नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि बन्द भएको वेबसाइट सोमबारबाट पूर्ववत् अवस्थामा सञ्चालनमा आएको छ । डेढ महिनादेखि बन्द रहेको वेबसाइट सर्वोच्च अदालतको सूचना–प्रविधि महाशाखाले पूर्ववत् रूपमा सञ्चालन गरेको हो ।
कागजी रूपमा मात्रै सञ्चालनमा रहेको अदालतको काम अब सोमबारबाट डिजिटल रूपमा सञ्चालन भएको छ । सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारबाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली(केस म्यानेजमेन्ट सिस्टम–सीएमएस) सञ्चालन गर्छ ।
सर्वोच्च अदालतकै वेबसाइटमा आबद्ध विशेष, उच्च र जिल्ला अदालतका वेबसाइट र सूचना प्रणाली पनि अब सञ्चालन गर्ने तयारी भइरहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
सर्वोच्च अदालतको वेबसाइट बन्द हुँदा मुद्दाका सरोकारवालाहरू प्रत्यक्ष प्रभावित भनेका थिए । सर्वोच्चको वेबसाइटमा मुद्दाको तारिख, पेशीदेखि अरू सबै विवरण र फैसला समेत उपलब्ध हुन्छ ।


