Tuesday, October 28

निर्वाचन पर्यवेक्षणका लागि १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ ।

Advertisement

आयोगले मंगलबार एक सूचना जारी गरेर पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहितको निवेदन १५ दिनभित्र पेश गर्न आह्वान गरेको हो ।

Advertisement

आयोगका अनुसार पर्यवेक्षण अनुमतिका लागि निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमै निवेदन सकिनेछ । अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

निवेदकले संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नविकरण भएको निस्साको प्रतिलिपिले निवेदनसँगै पेश गर्नुपर्नेछ ।

यस्तै निवेदनका साथमा संस्थाको कार्य समितिका पदाधिकारीहरूको नामावली, राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सो को प्रमाण, पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार पारेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सो को प्रति समेत निवेदनसँगै पेश गर्नुपर्नेछ ।

यस्तै यसअघिको निवार्चन पर्यवेक्षण गरेको भए आयोगमा निर्वाचन पर्यवेक्षण प्रतिवेदन बुझाएको प्रमाण समेत पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचन सम्बन्धी कसूर गरी वा निर्वाचन आचारसंहिता उल्लघंन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरी पर्यवेक्षण पेश नगर्ने संस्थालाई अनुमति दिइने छैन ।

यस्तै पर्यवेक्षकले आफ्नो स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम समावेश भएको क्षेत्रमा पर्यवेक्षणको अनुमति पाउने छैनन् ।