Tuesday, October 28

निर्वाचनको वातावरण तयार पार्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान

नेपालअखबार,काठमाडौं । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने भएको छ । वार्ता भोलि (बुधबार) दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा हुनेगरी तय भएको छ ।

Advertisement

निर्वाचनको वातावरण तयार पार्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् ।

Advertisement

स्रोतका अनुसार, विभिन्न ८/९ वटा समूहका जेनजी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीहरूसहितको त्रिपक्षीय वार्ता हुन लागेको हो ।

बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ ।

यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए ।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ ।

निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको सरकारका प्रवक्ता जगदिश खरेल बताउँछन् ।

सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ । सोहीअनुसार आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ ।