
नेपालअखबार,काठमाडौं । अमेरिकाबाट जर्मनी उडेको लुफ्थान्सा एयरको विमानमा एक यात्रुले दुई बालकमाथि काँटाचम्चा प्रहार गरेका छन्।
यो घटना गत शनिबारको हो।
अमेरिकाको शिकागोबाट जर्मनीको फ्र्यांकफर्ट उडेको लुफ्थान्साको उडान ४३१ मा २८ वर्षीय युवकले एक नाबालक र १७ वर्षीय किशोरमाथि काँटाचम्चा प्रहार गरेका हुन्।
ती युवक भारतीय नागरिक प्रनितकुमार उसिरीपल्ली रहेको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको हो।
दुई किशोरमाथि काँटाचम्चाले हमला गरेपछि अर्की महिलालाई पनि चड्कन हानेको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ।
प्रनितकुमारले सुतिरहेका एक बालककको बाँया काँधमा काँटाचम्चा घोपिदिएका थिए। लगत्तै सँगै रहेका अर्का किशोरको टाउकोको पछाडिपट्टिको भागमा सोही काँटाचम्चाले प्रहार गरेका थिए।
काँटाचम्चाले प्रहार गरेपछि दुवै बालकहरू घाइते भएका थिए। प्रहार भएको ठाउँबाट रक्तश्राव भएको थियो।
घटनापछि उडिरहेको जहाजभित्र अफरातफरी मच्चिएको थियो।
एक महिलाले प्रनितकुमारलाई शान्त पार्न खोज्दा ती महिलालाई चड्कन हानेका थिए।
त्यस्पछि ती युवकले बन्दुकको आकृति बनाएर औंला मुखमा हालेका थिए। त्यसपछि आफैमाथि गोली चलाएको जस्तो गरेर उनले मृत्यु भएको नाटक गरेका थिए।
त्यसपछि जहाजमा सवार एयर होस्टेस र सुरक्षाकर्मीहरूले प्रनितकुमारलाई नियन्त्रणमा लिएका थिए।
घटनापछि जहाज बोस्टनमा डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो। त्यहाँ प्रनितकुमारलाई प्रहरीको जिम्मा लगाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
उनीविरूद्ध संघीय अदालतमा मुद्दा चलाइएको छ। प्रारम्भिक अनुसन्धानबाट प्रनितकुमार विद्यार्थी भिसामा भारतबाट अमेरिका पुगेको खुलेको छ।
हाल उनी बाइबल अध्ययनमा स्नातकोत्तर कार्यक्रममा भर्ना भएका थिए। सो घटनापछि उनी अमेरिका बस्न अयोग्य भएका छन्।
उनीमाथि ‘हातहतियारको रूपमा प्रयोग गर्न सकिने वस्तु प्रयोग गरी शारीरिक क्षति पुर्याउने अभिप्रायले हमला गरेको’ अभियोगमा बोस्टनको संघीय अदालतमा मुद्दा चलाइएको छ।
फर्स्ट पोस्टका अनुसार उनलाई कम्तिमा १० वर्ष जेल सजाय र २ लाख ५० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ।


