Monday, July 6

नेपालको आह्वान जेनजीलाई आउनुहोस्, हातेमालो गर्दै भ्रष्टाचार र राजनीतिक विकृति अन्त्यमा लागौं

नेपालअखबार, काठमाडौँ ।नवघोषित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई भ्रष्टाचार, राजनीतिक विकृति, विसंगति अन्त्यका लागि हातेमालोका लागि आह्वान गरेका छन्।

Advertisement

बुधबार भृकुटीमण्डमा आयोजित पार्टी एकता घोषणामा बोल्दै सहसंयोजक नेपालले आजैमात्र केही जेनजीलाई एकीकृत समाजवादीमा भित्र्याएकोसमेत दाबी गरे।

Advertisement
Advertisement

‘आज मात्रै केही जेनजी युवालाई एकीकृत समाजवादीमा स्वागत गरेँ। अरू जेनजीलाई पनि भन्न चाहन्छु- आउनुहोस् हातेमालो गर्दै अगाडि बढौं। सुशासनको पक्षमा होस्, भ्रष्टाचारको अन्त्य, जनताको जीनवमा परिवर्तन गर्ने, समाजको विकृति विसंगति, राजनीतिमा देखिएका विकृतिको अन्त्य, सबै कुरामा हातेमालो गरौं,’ उनले भने।

Advertisement

उनले एकीकृत पार्टीमा आउन छुटेका सबै वाम शक्तिलाई एकीकरणमा समाहित हुन आग्रह पनि गरे।

‘जनताको चाहना बुझ्नुस्, उनीहरू एकीकृत कम्युनिस्ट पार्टी खोजिरहेका छन्। क्रान्तिकारी पार्टी खोजिरहेका छन्। त्यही पार्टीको आशा भरोषा गरेका छन्। आउनुहोस् एकीकृत भएर अगाडि बढ्ने छिटो भन्दा छिटो निर्णय गर्नुहोस्। बृहत वाम एक एकता, शब्द जति सुन्दर लाग्छ, व्यवहारलाई हेर्नुभयो भने अब कुनकुन बाँकी होला भनेर हेर्ने हो भने, कुनकुनसँग सम्भव छ भनेर राम्ररी विश्लेषण गरेर हेर्नुभयो भने तपाईं धेरै बाँकी समूह पाउनुहुनेछैन,’ उनले भने।

सबै वाम घटकलाई एकतामा ल्याउन अर्को प्रयास थाल्ने नेता नेपालले बताए।

‘बाँकी वाम समूहहरूलाई पनि एकतामा ल्याउने अर्को प्रयासबारे सोच्नुपर्छ,’ उनले भने, ‘किन भने तपाईंहरूलाई थाहा छ, हामीले देशको राजनीतिमा जनताको विश्वास जित्नुछ भने देशका समस्याहरू पहिचान गरेर त्यो समस्यालाई हल गर्नका लागि अगाडि बढ्नु छ भने सबै देशभक्त शक्तिलाई गोलबन्द गर्ने जिम्मेवारी पनि हाम्रै हो। देशको सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान र देशको हितको रक्षा गर्नु छ भने सबै देशभक्त र इमान्दारहरूलाई हातेमालो गर्दै अगाडि बढ्न प्रेरित पनि गर्ने, सँगसँगै लिएर जाने काम पनि गर्ने हो,’ उनले भने।

देशका सबै समाजवादी शक्ति, परिवर्तनका हिमायतीहरूलाई अगाडि बढाएर लाने उद्देश्यले एकीकृत पार्टीले विभिन्न मोर्चाको निर्माण गरेर जाने सहसंयोक नेपालले बताए।

‘सहकार्य गरेर होस्, मोर्चा बनाएर होस्, यो संविधानको रक्षा गर्न लागि, गणतन्त्र, संघीयताको रक्षा र पक्षमा, गणतन्त्र र संविधानका पक्षमा भएका दलहरूसँग हातेमालो गर्न हामीले नै पहल गर्ने हो। कार्यनीति, रणनीति, मिल्ने सबैसँग एकताको अभियान अगाडि बढ्छ। सानो दायरमा बस्न चाहँदैनौं, संकीर्ण सोचमा बस्न पनि चाहँदैनौं,’ उनले भने।

एकीकृत पार्टीका मूल जिम्मेवारी देशभरिका जनता सँग एकाकार हुने भएको पनि उनले बताए।