Sunday, July 26

मेक्सिकोकी राष्ट्रपतिमाथि बीच सडकमा यौन दुर्व्यवहार

नेपालअखबार,काठमाडौं । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम यौन दुर्व्यवहारमा परेकी छन्।

Advertisement

मंगलबार मेक्सिको सिटीमा नागरिकहरूसँग कुराकानी गरिरहेकी उनीमाथि एक पुरूषले दुर्व्यवहार गरेका हुन्।

Advertisement
Advertisement

उनीमाथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Advertisement

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी)का अनुसार राष्ट्रपति शेइनबाउममाथि यौन दुर्व्यवहारको घटना राजधानीको ऐतिहासिक डाउनटाउन क्षेत्रमा भएको हो।

भिडिओमा देखिएअनुसार राष्ट्रपति शेइनबाउम नागरिकहरूसँग कुरा गरिराख्दा एक पुरूष उनको नजिक जान्छन् र काँधमा हात राखेर उनको घाँटीमा चुम्बन गर्छन्।

राष्ट्रपति शेइनबाउमले तत्काल फर्केर ती पुरूषको हात आफ्नो काँधबाट हटाउँछिन्। उनले शान्तपूर्वक, हाँसेरै उनको सामना गर्छिन्। त्यसपछि सरकारी अधिकारी त्यहाँ आएर राष्ट्रपतिको छेउबाट ती पुरूषलाई हटाएका थिए।

त्यसपछि पनि उनले राष्ट्रपतिको नजिक गएर कुरा गर्ने प्रयत्न गरेका थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार त्यति भइसक्दा पनि राष्ट्रपतिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी त्यहाँ उपस्थित थिएनन्।

केही छिनपछि त्यहाँ आएका सुरक्षाकर्मीहरूले ती पुरूषलाई पक्राउ गरेका थियो।

ती पुरूष मदिरामा लठ्ठ रहेको खुलेको छ।

घटनापछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष राष्ट्रपति शेइनबाउमले ती व्यक्तिविरूद्ध जाहेरी दिने बताएकी छन्।

‘यो घटना मैले एक महिलाको रूपमा भोगेकी हुँ, तर यो कुरा हाम्रो देशकी सबै महिलाले भोगिरहेका छन्,’ उनले भनिन्, ‘यदि म आफैले उजुरी नगर्ने हो भने अरू महिलाको न्यायको अवस्थाबारे के सन्देश जान्छ?’

यस घटनापछि मेक्सिकन सञ्चारमाध्यम र महिला अधिकारकर्मीहरूले महिलामाथिको हिंसा र यौन उत्पीडनविरुद्ध गम्भीर आवाज उठाएका छन्।

पत्रकार क्याटालिना रुइज–नाभारोले भनिन्, ‘जब राष्ट्रपतिलाई पनि कुनै पुरुषले छुन सक्ने अधिकार आफूसँग छ भन्ने ठान्छ, यही हो पितृसत्तात्मक सोच।’

साथै, शेइनबाउममाथिको घटनाले राष्ट्रपतिको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ। केही दिनअघि मात्रै  मिचोआकान राज्यको उरुआपान नगरका मेयर कार्लोस अल्बर्टो म्यान्जो रोड्रिग्वेजको गोली हानी हत्या भएको थियो। यस्तो अवस्थामा राष्ट्रपतिको सुरक्षा व्यवस्था यति फितलो भएको भन्दै प्रश्न उठेको हो।

शेइनबाउमले भने आफू जनतासँग नजिक रहने पुरानो नीति परिवर्तन नगर्ने बताएकी छन्। ‘हामी जनताबाट टाढा रहन सक्दैनौं,’ उनले भनिन्, ‘त्यसो गर्नु भनेको हाम्रो पहिचान अस्वीकार गर्नु हो।’