
नेपालअखबार,काठमाडौँ । संविधानविद् एवं नेकपा नेता खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको कुनै विकल्प नरहेको बताएका छन्। उनले निर्वाचनमार्फत प्रतिनिधि पुनर्स्थापना गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित ‘प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकोले त्यसभन्दा दायाँबायाँ सोच्न नमिल्ने तर्क गरेका हुन्।
उनले भने, ‘प्रतिनिधि सभाको विघटन भएको हो। त्यो प्रतिनिधि सभाको निर्वाचनमार्फत पुनर्स्थापना गर्ने कुरा हो। दोस्रो कुरा, यो सरकारले निर्वाचन घोषणा गरेको पनि होइन। राष्ट्रपतिले ‘फागुन २१ गते निर्वाचन गर्ने तपाईँको जिम्मेवारी हो’ भनेर टिओआर दिनुभएको हो।’
उनले थपे, ‘यो सरकारले फागुन २१ गते चुनाव गर्नका लागि मन्जुर गरेर त्यो कुर्सी लिएर आएको हो। त्यसकारण त्यसभन्दा भिन्न ढङ्गले मैले सोच्ने ठाउँ छैन। त्यसकारण निर्वाचनमार्फत प्रतिनिधि सभा आउने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो।’
यसैगरी, नेता देवकोटाले मुलुकलाई अगाडि बढाउनका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था उपयुक्त हुने धारणा पनि व्यक्त गरे।

