Tuesday, April 28

ईश्वरको सन्देश केपीलाई अध्यक्षमा निर्विरोध हुन दिँदैनौँ

नेपालअखबार,काठमाडौँ । पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मिति नजिकिएसँगै नेकपा एमालेमा भावी नेतृत्वबारे पार्टीभित्र तीव्र बहस सुरु भएको छ ।

ठिक एक महिनापछि अर्थात मङ्सिर २७ गतेदेखि सुरु हुने एमाले महाधिवेशनमार्फत पुन अध्यक्ष पदमा तेहाेर्‍याउने तयारी गरेका केपी शर्मा ओलीविरुद्ध विपक्षी खेमाले प्यानलनै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

Advertisement

गत शुक्रबार विद्धान वर्गसँगको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष ओलीले आगामी महाधिवेशन र त्यसले गर्ने केही प्रक्रियागत कामको रूपरेखाबारे अभिव्यक्ति दिएका थिए ।

ओलीको उक्त अभिव्यक्तिपछि एमाले महाधिवेशन र भावी नेतृत्वका बारेमा चर्चा हुनुका साथै ओली प्रवृत्तिको चर्को विरोध भइरहेको छ

ओलीले महाधिवेशन हलमा नीति र नेतृत्वका बारेमा कुनै छलफल नहुने भनेर एकतर्फी घोषणा गरेका थिए

‘यसपल्ट महाधिवेशनमा मेरो उद्घाटन मन्तव्य जति आउँछ त्यति नै हो। मैले एकतर्फी महाधिवेशनलाई सम्बोधन गर्ने हो । त्यो निर्देशनात्मक सम्बोधन हुन्छ’, अध्यक्ष ओलीले भनेका थिए, ‘त्यसमा छलफल हुन भ्याउँदैन । किनभने महाधिवेशन लम्बिन्छ । त्यसलाई हामी धान्न सक्दैनौँ ।’ओलीको यही अभिव्यक्तिलाई लिएर एमाले नेता कार्यकर्ताभित्र खैलाबैला मच्चिएको हो ।

ईश्वरले दिए साङ्केतिक चुनौती

महाधिवेशनमा ओलीको विकल्पमा एमालेभित्रका १० बुँदे पक्षधर र पूर्व राष्ट्रपति विद्या भण्डारी पक्षधरले अलग प्यानल बनाउने र ओलीसँग प्रतिस्पर्धा गर्ने गृहकार्य गर्दै आएका छन् ।

यही बेला बेला अध्यक्ष ओलीको महाधिवेशनबारे एकतर्फी फर्मानलाई मान्नुपर्ने टाइपको अभिव्यक्तिलाई नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलगायतका नेताहरूले ‘हुकुम प्रमाङ्गी’को संज्ञा दिएका छन् ।

खासगरी गत भदौ २३ र २४ गतेको परिवर्तनलाई नस्वीकारेका ओलीले अझै पनि विदेशी षड्यन्त्र भनेर व्याख्या गरिरहेका छन् ।

आन्दोलन हुँदा देशको कार्यकारी भूमिकामा रहेका ओलीले त्यति ठुलो विध्वंस हुँदा समेत किन र कसरी सूचनाविहीन हुन पुगे ? भनेर पार्टी नेताहरूले खोजेको जवाफ अझै दिन सकिरहेका छैनन् ।

बरु एकोहोरो रूपमा ओलीले अरू अमूर्त त शक्तिलाई नै दोष दिएर उम्कने प्रयास गर्दै आएका छन् । यसमा धेरैजसो सचिवालय सदस्यले बैठकमै आपत्ति जनाएका छन् ।

त्यतिमात्रै होइन जेनजी आन्दोलनको स्पिरिट पार्टीहरूमा रूपान्तरण र पुस्तान्तरण हो भन्ने विषयलाई समेत ओलीले नजरअन्दाज गरेका छन् । त्यसलाई नजरअन्दाज गर्दै ओलीले पार्टी नेतृत्व नछाड्ने र संसद् पुनर्स्थापनालाई जोड गरिरहेका छन् । ओलीको यही जोडबलका कारण एमालेबाहेक सबै पार्टी निर्वाचनको पक्षमा लाग्दा एमाले एक्लो बृहस्पतिजस्तो संसद् पुनर्स्थापनाको रटान लगाइरहेको छ । ओलीको यो रटानले एमाले ठुलो दुर्घटनामा पर्न सक्ने कतिपय एमाले नेता कार्यकर्ताहरूको बुझाई र विश्लेषण छ ।

ओलीका यस्तै अभिव्यक्ति र प्रवृत्तिको जवाफ दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले शुक्रबार महाधिवेशनमा नीति र नेतृत्वबारे बहस गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो वक्तव्य पोस्ट गर्दै नेता पोखरेलले मुलुक सङ्कटको अवस्थाबाट मुक्त भइनसकेको बताएका छन् ।

साथै उनले अध्यक्ष ओलीलाई आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने र यसअघि विधान महाधिवेशनले पारित गरेका पार्टीका सैद्धान्तिक वैचारिक कार्यक्रममा व्यापक छलफल गरेर परिमार्जन गर्नुपर्ने सन्देश दिएका छन् ।

‘मलाई थाहा छ, यही परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेकपा ( एमाले) को ११ ओेँ राष्ट्रिय महाधिवेशनले  ( २७–२९ मंसीर २०८२, काठमाडाैँ) सबैको ध्यान तानेको छ’, पोखरेलले भनेका छन् । त्यतिमात्र होइन उनले गएको भदौ २०–२२मा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्ताबेजहरू पारित गरिए पनि जनेजी आन्दोलनपछि अवस्थामा व्यापक परिवर्तन आएको भन्दै सोही अनुसार पार्टीको धारणा बदल्नुपर्ने बताएका छन् ।

‘भदौ २३–२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ’, पोखरेलले भनेका छन्, ‘राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढङ्गले मार्ग निर्देशन गर्न सक्तैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ ।’

बदलिँदो परिस्थितिको गम्भीर समीक्षा हुनुपर्ने र नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने पोखरेलको भनाइ छ । ‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ , आगामी ११ ओैँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ’, पोखरेलले भनेका छन्, ‘हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको वहुदलीय जनवादले निर्दिष्ट गरेको विचार  र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ ।’

एमालेले महाधिवेशन प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते देशभर एकै दिन गर्दै छ । जबजको सङ्गठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी हुन समेत सम्पूर्ण पार्टी सदस्यहरूलाई अपिल गरेका छन् ।