Saturday, April 18

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

Advertisement

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गरिएको छ।

प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरिएको हो।

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले बताए।

साथै, माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि लाग्ने पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम गर्ने निर्णय गरिएको छ।

सो कार्यका लागी अध्यागमन नियमावली, २०५१ को अनुसूचि–१२ मा हेरफेर गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

बैठकले सहिद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरेको छ। –न्युज एजेन्सी नेपाल