Wednesday, November 19

राष्ट्रपति ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही गर्न सीआईएलाई दिए स्वीकृति

नेपालअखबार,अमेरिका । कुनै समय भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई केही वर्षपछि पद त्याग्न प्रस्ताव लैजान पनि सुझाइएको थियो तर ह्वाइट हाउसले उक्त प्रस्ताव अस्वीकार गर्‍यो र सैन्य कारबाहीका लागि अनुमति दियो ।

Advertisement

गोप्य कारबाहीहरू के हुन सक्छन् वा ती मध्ये कुन चाहिँ तत्काल कार्यान्वयन गरिनेछ भन्नेबारे स्पष्ट छैन । ट्रम्पले भेनेजुएलामा स्थल सेना परिचालन गर्न अझै स्वीकृति दिएका छैनन्, त्यसैले मादुरो सरकारमाथि प्रशासनको बढ्दो दबाब अभियानको अर्को चरण तोडफोड वा कुनै प्रकारको साइबर, मनोवैज्ञानिक वा सूचना सञ्चालन हुन सक्छन् भन्ने अनुमान गरिएको छ ।

Advertisement

राष्ट्रपतिले भेनेजुएलामा अपनाउने व्यापक कार्यदिशाबारे निर्णय गरेका छैनन्, न त यस क्षेत्रबाट लागुऔषधको प्रवाह रोक्ने बाहेक आफ्नो अन्तिम लक्ष्य सार्वजनिक रूपमा व्यक्त गरेका छन् । सैन्य तथा सीआईएका योजनाकारहरूले विभिन्न आकस्मिकताका लागि धेरै विकल्पहरू तयार पारेका छन् ।

सैन्य योजनाकारहरूले प्रहार गर्न सकिने सम्भावित लागुऔषध सुविधा केन्द्रहरूको सूची तयार पारेका छन् । पेन्टागनले मादुरो नजिकका सैन्य एकाइहरूमाथि प्रहार गर्ने योजना पनि बनाइरहेको छ । ट्रम्पले गत हप्ता ह्वाइट हाउसको सिचुएशन रुममा भेनेजुएलाबारे छलफल गर्न र आफ्ना वरिष्ठ सल्लाहकारहरूसँग विकल्पहरूमा समीक्षा गर्न दुईवटा बैठकहरू आयोजना गरेका थिए ।

सीआईएद्वारा गरिने कुनै पनि गोप्य कारबाही सम्भवतः त्यस्ता सैन्य प्रहारहरू भन्दा पहिले हुनेछ । ट्रम्पको आदेशबारे ह्वाइट हाउस र सीआईएले आधिकारिक रुपमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।

President Nicolás Maduro

ट्रम्पले सीआईएलाई भेनेजुएला भित्र सम्भावित धेरैवटा गोप्य कारबाहीहरू तयार पार्न भने पनि, उनले गत महिना केही समयका लागि यस्ता वार्ताहरू बन्द गरेपछि मादुरोसँग गोप्य वार्ता पुनः सुरु गरेका छन् ।

ती अनौपचारिक वार्तामा, मादुरोले अमेरिकी ऊर्जा कम्पनीहरूलाई आफ्नो देशको तेल स्रोतमा पहुँच दिन इच्छुक रहेको बताइएको छ । ट्रम्पले आइतबार ती वार्ताहरूलाई एक किसिमले स्वीकार गरे भन्न मिल्ने अवस्था छ ।

‘हामी मादुरोसँग केही छलफल गरिरहेका हुन सक्छौँ र त्यसको नतिजा के आउँछ हेर्नेछौँ’, ट्रम्पले भने ।

जब ट्रम्प सार्वजनिक रूपमा यस मुद्दामा छलफल गर्छन्, उनी भेनेजुएलाको लागुऔषध व्यापार वा अवैध आप्रवासनमा भूमिकामा जोड दिन्छन्, तर निजी रूपमा भने उनले देशको विशाल तेल भण्डार र अमेरिकी कम्पनीहरूले त्यसमा पहुँच पाउने बारे छलफल गरिरहेका हुन्छन् ।

क्यारेबियन समुन्द्रमा अमेरिकाको सबैभन्दा ठुलो विमानवाहक युद्धपोत तैनाथ गरिएसँगै राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथि दबाब बढाउन र व्यापक सैन्य अभियानको सम्भावनाका लागि तयारी गर्न थप कदमहरूलाई स्वीकृति दिएका छन् । यस मामिलासँग सम्बन्धित धेरै व्यक्तिहरूले न्युयोर्क टाईम्सलाई त्यसबारे बताएका छन् ।

भेनेजुएलाका अधिकारीहरूले अमेरिकीलाई बताए अनुसार मादुरो दुईदेखि तीन वर्षको संक्रमणकालपछि पद त्याग गर्न इच्छुक हुन सक्छन् । यस मामिलाका जानकारहरुका अनुसार मादुरोको सत्ता छोड्ने कुनै पनि ढिलाइ ह्वाइट हाउसका लागि स्वीकार्य छैन ।

तर, स्पष्ट गतिरोधका बाबजुद, गोप्य वार्ताहरूले कूटनीतिक समाधान अझै सम्भव रहेको देखाइ रहेको छ । छलफलमा सहभागी व्यीक्तहरुका अनुसार राष्ट्रपतिले कस्तो निर्णय लिनेछन् भन्नेबारे केही पनि स्पष्ट छैन ।

ट्रम्पले अमेरिकी कम्पनीहरूका लागि भेनेजुएलाको तेल स्रोतमा थप पहुँच पाउन कूटनीतिक सम्झौता गरिरहेको उनीहरुले आंकलन गरेका छन् । यसका साथै ट्रम्पले मादुरोलाई स्वेच्छिक रूपमा सत्ता छाड्न अनुमति दिन पनि सक्छन् । वा भेनेजुएलाका सत्ता प्रमुखलाई संयुक्त राज्य अमेरिकाले बलपूर्वक हटाउन पनि सक्छ ।

ट्रम्पले भेनेजुएला भित्र गोप्य कारबाहीका लागि सीआईएका योजनाहरूलाई अनुमोदन गरेका हुन् । यी कारबाहीहरू थप सैन्य अपरेशनका लागि, युद्धक्षेत्र तयार पार्नका लागि हुन सक्ने ती व्यक्तिहरूले बताए । साथै, उनीहरूले, ट्रम्पले गोप्य वार्ताका लागि नयाँ प्रक्रियाहरूलाई पनि अनुमति दिएको बताए ।

अन्तिम परिणाम अनिश्चित भए पनि, ह्वाइट हाउसले मादुरोमाथि दबाब बढाउने रणनीतिमा सहमति जनाएको छ । साथै ट्रम्पलाई भेनेजुएलाविरुद्धको अभियानलाई कसरी अन्त्य गर्न चाहन्छन् भन्ने विकल्पहरू पनि दिएको छ ।

‘अपरेशन साउथर्न स्पियर’ भनिने क्यारेबियन समुन्द्रमा अमेरिकी नौसेना बलहरूको ठुलो तैनाथले त्यसैको झल्को दिन्छ । सन् १९६२ को क्युबाली मिसाइल संकट र क्युबाको नाकाबन्दी यताकै सबैभन्दा ठुलो संख्यामा त्यहाँ सैन्य उपस्थिति गराइएको छ ।

विमानवाहक युद्धपोत गेराल्ड आर. फोर्ड सप्ताहन्तमा क्यारेबियन समुन्द्रमा पुग्यो र अहिले यस क्षेत्रमा १५ हजार सेनालाई दैनिक परेड खेलाइदै छ । तर सैन्य तैनाथी बहुआयामिक दबाब अभियानको सबैभन्दा सानो अंश हो ।

USA

परराष्ट्र मन्त्रालयले नोभेम्बर २४ देखि कार्टेल डे लस सोलेसलाई आतंकवादी संगठनको रूपमा तोक्ने घोषणा गरेको छ । यद्यपि कार्टेल डे लस सोलेस परम्परागत अर्थमा कार्टेल होइन, यो ट्रम्प प्रशासनका लागि मादुरो सरकारको ठुलो भागलाई आतंकवादी संगठनको रूपमा लेबल गर्ने शैली हो । यसले सम्भावित रूपमा सैन्य कारबाहीका लागि मार्ग प्रशस्त गर्न सक्छ तर सरकारमाथि दबाब पनि बढाउँछ ।

हालैका दिनहरूमा ट्रम्पका सार्वजनिक टिप्पणीहरूले संकटलाई झनै गहिरोगरि बोध गर्नुपर्ने बनाई दिएको छ । खासमा भन्ने हो भने उनका अभिव्यक्तिले गम्भीर अनिश्चितताको झल्को दिइरहेको छ ।

ट्रम्पले सोमबार भेनेजुएलामा स्थल सेना पठाउने सम्भावनालाई अझै अस्वीकार गरिसकेका छैनन् र मादुरोसँग प्रत्यक्ष वार्ताको सम्भावनालाई पनि खुला राखेका छन् ।

‘म केही पनि अस्वीकार गर्दिनँ । हामीले भेनेजुएलाको हेरचाह गर्नुपर्छ ।’, ट्रम्पले भने ।

(न्युयोर्क टाइम्सबाट)