Thursday, July 23

श्रीलंकामा केही वर्षयताकै भीषण वर्षा– बाढीपहिरोले ५६ जनाको मृत्यु, ४४ हजार प्रभावित

नेपालअखबार,काठमाडौँ ।  यो साताभरि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले श्रीलंकामा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन्।

Advertisement

यसलाई पछिल्ला वर्षहरूमा देखिएका सबभन्दा भीषण मौसम विपदमध्ये एक मानिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले लेखेको छ।

Advertisement
Advertisement

श्रीलंकाको चियाबारी क्षेत्र बडुल्लामा रातारात गएको पहिरोले घर बगाउँदा २१ जनाको ज्यान गएको स्थानीय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ।

Advertisement

सामाजिक सञ्जालमा आएका भिडिओमा बाढीको भेलले घरहरू बगाउँदै गरेका देखिन्छन्। देशभर अधिकांश रेल सेवा पनि स्थगित गरिएको छ।

यसैबीच, श्रीलंकाको पूर्वी तटनजिकै चक्रवात सर्ने क्रममा रहेकाले शुक्रबार थप खराब मौसम आउने चेतावनी दिइएको छ। यो चक्रवात भारततर्फ सर्दै जाने अनुमान गरिएको छ।

बिबिसीका अनुसार श्रीलंकामा नदीहरूको सतह लगातार बढ्दै गएको छ। प्रकोप व्यवस्थापन केन्द्रले तल्लो भूभागमा बस्नेहरूलाई सुरक्षित उचाइमा सर्न आग्रह गरेको छ।

सिँचाइ विभागका अनुसार, आगामी ४८ घन्टाभित्र राजधानी कोलम्बो सहित केलानी नदी आसपासका तल्लो बस्तीलाई उच्च जोखिममा राख्दै सतर्कता सूचना जारी गरिएको छ।

शुक्रबार श्रीलंकाका मध्य र उत्तर–पूर्वी भागका केही स्थानमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने श्रीलंकाको मौसम विभागले जनाएको छ।

यसले प्रमुख राजमार्गहरू बन्द गरिएका छन्। शुक्रबार बिहान ६ बजेदेखि अत्यावश्यक केही सेवाबाहेक सबै रेल सेवा रद्द गरिएको रेल्वे विभागले घोषणा गरेको छ

प्रकोप व्यवस्थापन केन्द्रका अनुसार अहिलेसम्म करिब ४४ हजार मानिस प्रभावित भएका छन्। देशभर उद्धार र राहतका लागि करिब २० हजार ५०० सेना परिचालन गरिएको छ।

श्रीलंका अहिले मनसुनको सिजनमा भए पनि यति तीव्र चरम मौसम कमै देखिन्छ।

यहाँ शताब्दीकै सबभन्दा ठूलो बाढी सन् २००३ को जुन महिनामा आएको थियो, जब २५४ जनाको मृत्यु भयो र लाखौं विस्थापित भए।