नेपालअखबार,काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) लगायतका विचार मिल्ने वामपार्टीहरूबीच भएको एकताको स्वागत गर्दै श्रमजीवी पत्रकारको पेसागत सुरक्षा तथा पेसागत हकहितका विषयलाई अझ सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।
विचार मिल्ने पार्टीहरूबिच भएको एकतालाई सङ्गठनले सकारात्मक रूपमा लिने निर्णय गर्दै एकताको स्वागत गरेको हो ।
Advertisement
सङ्गठनको अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यालय बैठकले सङ्गठन बाहिर रहेका र अन्य प्रगतिशील पत्रकारहरूलाई पनि यो अभियानमा जोडिन आह्वान गरेको हो ।
वाम शक्तिबिच सुरु भएको ध्रुवीकरण प्रक्रियालाई सहज ढङ्गले लिने र त्यसका लागि आवश्यक वातावरण बनाउने निर्णय गरेको बैठकले एकताबद्ध भएका पार्टीका भातृ सङ्गठनहरूबिच हुने एकीकरण सम्मानजनक हुनुपर्ने निर्णय गरेको छ ।
मुलुकमा विद्यमान समस्या समाधानका लागि कम्युनिस्ट एकताको ऐतिहासिक आवश्यकता वोध गर्दै बैठकले कम्युनिस्ट आन्दोलनमा विभाजन, विघटनको क्रम चलिरहेको बेला प्रगतिशील शक्तिहरूको एकताले आमजनतालाई उत्साहित बनाएको ठहर गरेको छ ।
