Monday, April 27

एमाले महाधिवेशन- प्रतिनिधि छनोटको विषयलाई लिएर च्यासलमा हात हालाहाल

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद भएको छ।

आज दिउँसो एमाले मुख्यालयमा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रतिनिधि चयनलाई लिएर तनाव सिर्जना भएको हो।

Advertisement

महासंघकी सचिव मन्दिरा श्रेष्ठका अनुसार अध्यक्ष पासाङ शेर्पा पक्षधरले एकलौटी ढंगले प्रतिनिधि चयन गरेका थिए। त्यस विरोधमा असन्तुष्ट समूह उजुरी लिएर केन्द्रीय संगठन विभागमा पुगेको थियो। त्यही क्रममा पासाङ शेर्पा पक्ष ध्यानाकर्षण गराउन भन्दै संगठन विभागमै पुगेको थियो।

दुवै पक्षबीच भनाभन भइरहेका बेला युवा संघका नेता मंगल थापाले आफूहरूमाथि हातपात गरेको श्रेष्ठको भनाइ छ।

‘पासाङ शेर्पा पक्षले महासचिव पेम्बा भोटेलाई कारबाही गरेको बताउँदै उपमहासचिव देवराज राईलाई कार्यवाहक महासचिव तोकेको छ, उनैको नेतृत्वमा अवैधानिक ढंगले बैठक नै नराखी महाधिवेशनका लागि ७ जना प्रतिनिधि तोकेका रहेछन्, फेरि आफै आज उनीहरू ध्यानाकर्षण पत्र बुझाउन संगठन विभाग आएपछि तनाव भएको हो,’ उनले भनिन्, ‘हामी पनि ३१ जना उम्मेदवारको सूची लिएर संगठन विभाग पुगेका थियौं। त्यही भेला मंगल थापा समूहले हातपात गरेका हुन्।’

एमाले महाधिवेशनमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघबाट ७ जना प्रतिनिधि जाने व्यवस्था छ।