Wednesday, July 15

कञ्चनपुरको खजुवापट्टीमा डिप बोरिङ सञ्चालन : दुई सय किसानलाई बाह्रैमास सिँचाइ सुविधा

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, खजुवापट्टीका किसानहरूले वर्षभर सिँचाइको भरपर्दो सुविधा पाएका छन्। सुदूरपश्चिम प्रदेश भूमिगत सिँचाइ कार्यालय धनगढीको सहयोगमा रु ५० लाखभन्दा बढीको लागतमा जडान गरिएको डिप बोरिङ सञ्चालनमा आएपछि स्थानीय किसानहरूलाई ठूलो राहत मिलेको हो।

Advertisement

शुक्लाफाँटा–१ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार डिप बोरिङले यस क्षेत्रका करिब ६० बिघा जमिनमा नियमित सिँचाइ उपलब्ध गराउनेछ। बोरिङसँगै विद्युत् मोटरको व्यवस्था, भल्व र पाइपलाइन विस्तार पनि गरिएको छ। यसबाट यस क्षेत्रका करिब दुई सय किसान प्रत्यक्ष लाभान्वित भएका छन्। अध्यक्ष भट्टका भनाइमा अब हिउँद–बर्खा कुनै पनि समयमा खेतमा सहजै सिँचाइको सुविधा भएको छ।

Advertisement
Advertisement

स्थानीय किसान रतन चौधरीले पहिले सिँचाइको व्यवस्थित व्यवस्था नहुँदा खेतीपातीका बेला अत्यधिक समस्यामा पर्ने गरेको बताएका छन्। सिँचाइको भरपर्दो व्यवस्था नहुँदा विगतमा पम्पसेटको मद्दतले नदीबाट पानी तान्नुपर्ने, तर जेठ–वैशाखमा नदी नै सुक्ने हुँदा खेत पनि सुक्ने समस्या थियो। उनले अब खेतखेतमै नियमित सिँचाइ गर्न सकिने भएपछि तरकारी, धान र गहुँखेती विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

Advertisement

पहिले केही किसानसँग निजी विद्युतीय मोटर भए पनि त्यसबाट पर्याप्त सिँचाइ गर्न सकिने अवस्था थिएन। मोटरले सबै खेतमा पानी पुर्‍याउन नसक्ने तथा विद्युत् आपूर्तिमा समस्या आउँदा सिँचाइ अवरुद्ध हुने गरेको थियो। नयाँ डिप बोरिङ जडानपछि खेतानुसार पानीको आपूर्ति सहज हुने र उत्पादनमा वृद्धि हुने अपेक्षा किसानहरूले लिएका छन्।

वडाध्यक्ष भट्टका अनुसार, सिँचाइ सुविधा विस्तारले व्यावसायिक तरकारीखेती र मत्स्य व्यवसाय मा संलग्न किसानहरूलाई ठूलो राहत मिल्नेछ। सिँचाइको अभावले खेती प्रणालीमा असर परिरहेकोमा अब एकैपटक ठूलो क्षेत्रफलमा सिञ्चित खेती सम्भव हुने भएकाले कृषिको उत्पादनमा उल्लेख्य वृद्धि हुनेछ। किसानहरूले डिप बोरिङ जडानलाई आर्थिक विकासका लागि महत्त्वपूर्ण कदम मानेका छन्।

सुदूरपश्चिम भूमिगत सिँचाइ कार्यालयका प्राविधिकहरूले डिप बोरिङको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको र थप प्रवाह क्षमता बढाउनका लागि आवश्यक सूक्ष्म सुधारका काम भइरहेको जनाएका छन्। आयोजनाले पाइपलाइन विस्तार, मोटर मर्मत तथा नियमित सञ्चालनका लागि स्थानीयस्तरमै समन्वय समिति गठन गरेको छ।