
नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमाले भित्रका असन्तुष्ट पक्षलाई मिलाएर राख्न अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।
शनिबारदेखि सुरु हुने एमालेको ११ औँ महाधिवेशनबारे प्रतिक्रिया दिँदै पाण्डेले ओलीलाई सुझाव दिएका हुन् । एकता सन्देश सभालाई सम्बोधन गर्न गोरखा पुगेका उनले भने– ‘हामीलाई त पेलेर पार्टीबाट निस्कन बाध्य बनाउनुभयो । तर बाँकी रहेकालाई पनि निस्कन बाध्य नपार्नोस् । सबैलाई मिलाएर राख्नोस् । यही सुझाव छ ।’
नयाँ नेतृत्वको लागि हुन लागेको यो महाधिवेशनबाट पुनः ओलीलाई नै अध्यक्ष बनाउने गरी विधान संशोधन गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह असन्तुष्ट देखिएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएपछि अन्तरविरोध चर्किएको छ । महाधिवेशनको पूर्व सन्ध्यामा दुवै पक्षले आ-आफ्ना तयारी थालेका छन् ।

