Tuesday, July 14

धान्द्रुके बाजेले पाए ८३ वर्षमा नागरिकता

नेपालअखबार,बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्।

Advertisement

उनी नागरिकताबाट वञ्चित रहेको समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो प्रयासपछि कार्यपालिकाबाट निर्णय गराई नागरिकता दिलाएको हो। नाम र जन्मस्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्थे। नागरिकता प्राप्त गरेसँगै उनले पहिलोपटक आठ हजार रुपैयाँ वृद्धभत्ता पनि पाएको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ।

Advertisement
Advertisement

लामो समयदेखि भकुण्डेमा बस्दै आएका उनी बोल्न नसक्ने र परिवारको सम्पर्कसमेत नहुँदा पहिचानविहीन अवस्थामा थिए। नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट पनि उनी वञ्चित हुँदै आएका थिए। नगरपालिकाको कार्यपालिकाले निर्णय गरेपछि संरक्षक राखी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए।

Advertisement

सानै उमेरमा भकुण्डे आएका उनी बोल्न नसक्ने भएकाले गाउँलेले धान्द्रुके बाजे भनेर बोलाउने गरेको र हाल नरमाया थापाको घरमा बस्दै आएकाले उनकै संरक्षकत्वमा नागरिकता लिइएको खड्काले बताए।

बाँसका सामग्री बनाउँदै आएका उनको जीवनको उत्तरार्धमा चन्द्रबहादुर थापा नाम राखी नागरिकता प्रदान गरिएको हो।