Tuesday, July 14

सशस्त्रका ५ जना उद्धारकर्ता र खेलाडीलाई सिधै यूएन मिसनमा अवसर

नेपालअखबार,काठमाडौं । सशस्त्र प्रहरीका उद्दार र खेलकुदमा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरुलाई यूएन मिसनमा सिधै सहभागी हुने भएका छन् ।

Advertisement

सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिएर उद्धार गर्ने कर्मचारी, २०८१ मा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई अवसर दिइएको हो ।

Advertisement
Advertisement

सहभागी हुनेहरुमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्को समयमा देशका विभिन्न भागमा १९ पटकसम्म खटिएर १० जनाको सकुशल उद्धार गर्नुका साथै ११ वटा शव निकालेका थिए । उनले २ जना पर्यटकको जिवितै उद्धार गरेका थिए ।

Advertisement

यसैगरी सशस्त्र प्रहरी सहायक हवल्दार भरत काफ्लेले गत चैत्र १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जनामध्ये ५ जनाको रोप रेस्क्यु विधिद्धारा सकुशल उद्धार गर्नुका साथै विभिन्न घटनामा २० पटक खटिएर १५ जनाको शव निकालेका थिए ।

सहायक हवल्दार मेखबहादुर गुरुङ्गले गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिमहरुमा उत्कृष्ट प्रशिक्षकको रुपमा समेत निरन्तर खटिदै आएको तथा विभिन्न घटना तथा दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुको साथै विदेशी नागरिकको उद्धारमा समेत खटिएका थिए ।

आपत् विपद्मा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वारमा उत्कृष्ट कार्य गर्न सफल भई सशस्त्र प्रहरी सहायक हवल्दार किरणबहादुर भण्डारी गत वर्षको उत्कृष्ट ‘वर्ष जवान–२०८१’ घोषित भएका थिए । उनलाई पनि संगठनको नीति अनुसार मिसनको अवसर दिइएको छ ।

मिसनमा अवसर पाएका सशस्त्र प्रहरी परिचर पुरन राईले नेपाल एपीएफ क्लवका आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देश र संगठनको नाम उच्च राख्दै बक्सिङ्ग विधामा उत्कृष्ट खेल प्रदर्शन गरी ८ स्वर्ण, ३ रजत र १ कांस्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेका थिए ।