Monday, May 11

एमाले केन्द्रीय सदस्यमा आए ४० वर्ष मुनिका यी १५ युवा

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा युवा क्लस्टरबाट प्रतिनिधित्व गर्ने १५ जना सदस्यको निर्क्याैल भएको छ । खुला, प्रदेश, समावेशी क्लस्टरबाट समेत गरी ती सदस्यको निर्क्याैल भएको हो ।

सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार खुल्लातर्फ २ जना, भूगोलबाट ८ जना, तथा समावेशी अन्तर्गत आदिवासी जनजातीतर्फ २ जना, मधेसीबाट ३ जना र दलितबाट २ जना गरी सो सङ्ख्यामा ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व भएको हो ।

Advertisement

पार्टीको विधानमै व्यवस्था गरेर एमालेले यसपटक युवा क्लस्टर (४० वर्ष मुनि) का लागि सिट सुरक्षित गरेको थियो । जसमा केही निर्विरोध निर्वाचित भएका छन् भने केही लोकप्रिय मतसहित विजयी भएका छन् ।

केन्द्रीय सदस्यको खुल्ला युवा तर्फको दुई सिटमा नरेश रोकाया र सुशील कुमार थापा निर्विरोध निर्वाचित भएका छन् । उनीहरूले मतदान प्रक्रियामा समावेश नै नभई केन्द्रीय सदस्य बनेका हुन् ।

सातै प्रदेश र उपत्यका विशेष गरी भूगोलतर्फको युवा क्लस्टरमा कडा प्रतिस्पर्धा भएको थियो । यसमध्ये कोशी प्रदेशबाट क्षितिज थेबे, मधेस प्रदेश इन्जिनियर मोबिन आलम, बागमती प्रदेशबाट निशा अधिकारी, गण्डकी प्रदेशबाट नवराज ओझा, लुम्बिनी प्रदेश लिलामणी गौतम, कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी र राजधानी विशेषबाट सुनिता डंगोल निर्वाचित भएका छन् ।

समावेशी क्लस्टरको ५ जना युवामध्ये आदिवासी जनजाती युवातर्फ सम्राट गौचन र मनोज ताम्ली निर्वाचित भएका छन् । मधेसी युवातर्फ अमर कुमार यादव र रौनित शाह निर्वाचित भएका छन् ।

दलित युवातर्फ निता घतानी विजयी भए ।