Friday, July 10

बङ्गलादेशमा हिन्दु युवाको हत्या प्रकरणमा १० जना पक्राउ

नेपालअखबार, ढाका । बङ्गलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवा दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरिएको घटनामा सुरक्षा निकायहरूले ठुलो कारबाही गर्दै १० जना अभियुक्तलाई पक्राउ गरेका छन्। यो जानकारी बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गरेका छन्।

Advertisement

यस घटनामा र्‍यापिड एक्सन बटालियनले सात जना संदिग्धहरूलाई पक्राउ गरेको मुहम्मद युनुसले बताएका छन् । स्थानीय प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ। यि गिरफ्तारी विभिन्न क्षेत्रमा गरिएको विशेष अपरेशनको भागको रूपमा गरिएको थियो।

Advertisement
Advertisement

भीडले कुटपिट गरी हत्या गरेर दिपु चन्द्र दासको शरीरमा आगो लगाएको थियो । दिपु चन्द्र दासलाई ईश्वरनिन्दाको आरोपमा भीडले क्रूर रूपमा कुटपिट गरेर उनको शरीरलाई रूखमा झुण्ड्याएर आगो लगाइएको समाचार आएका छन् ।

Advertisement

पक्राउ परेका अभियुक्तहरूको नाम सार्वजनिक भएको छ। आरएबीले पक्राउ गरेका सात अभियुक्तहरूमा मोहम्मद लिमन सरकार (१९), मोहम्मद तारेक हुसेन (१९), मोहम्मद मानिक मिया (२०), इर्शाद अली (३९), निजुम उद्दिन (२०), आलमगीर हुसेन (३८) र मोहम्मद मिराज हुसेन अकोन (४६) रहेका छन्। प्रहरीले मोहम्मद अजमोल हसन सगीर (२६), मोहम्मद शाहिन मिया (१९) र मोहम्मद नजमुललाई हिरासतमा लिइएको छ।

मुद्दाको निष्पक्ष रूपमा अनुसन्धान गरिने र दोषीहरूलाई कानुन अनुसार कडा सजाय दिइने आश्वासन अन्तरिम सरकारले दिएको छ। अल्पसङ्ख्यकहरूको सुरक्षा सुनिश्चित गर्न थप कदम चालिने पनि बताएको छ। बङ्गलादेश हिन्दू-बौद्ध-क्रिश्चियन एकता परिषद्ले घटनाको कडा निन्दा गरेको छ। संस्थाले यसलाई साम्प्रदायिक सद्भाव बिगार्ने षड्यन्त्र भनेको छ र दोषीहरूलाई कडा सजायको माग गरेको छ।

विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि देश पहिले नै तनावग्रस्त रहेको बेला यो घटना भएको हो। हादीको हालैको मृत्युले देशका धेरै भागहरूमा अशान्ति र हिंसा निम्त्याएको छ। हादीलाई शनिबार बंगलादेशका राष्ट्रिय कवि काजी नजरुल इस्लामको चिहानको छेउमा रहेको ढाका विश्वविद्यालय परिसरमा कडा सुरक्षा व्यवस्था बिच गाडिएको थियो।