Friday, July 31

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी

नेपालअखबार, गुल्मी । गुल्मीमा पछिल्लो समयमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । सोलार लिफ्ट खानेपानी परियोजनाबाट गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पुर्‍याइएको हो ।

Advertisement

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई लुम्बिनी प्रदेशबाट १५ लाख रुपैयाँ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५५ लाख ३३ हजार रुपैयाँ, ग्रामीण प्रविधि केन्द्रबाट २९ लाख ६१ हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

Advertisement
Advertisement

त्यसैगरी गुल्मीदरबार गाउँपालिकाबाट २२ लाख रुपैयाँ, वाइन टु वाटर नेपालबाट ५५ लाख ६२ हजार रुपैयाँ र २४ लाख रुपैयाँ बराबरको स्थानीय उपभोक्ताको श्रमदानबाट खानेपानी परियोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए ।

Advertisement

ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिमार्फत जलवायु परिवर्तन उत्थानशिलता र जीविकोपार्जनका लागि सहयोग परियोजनामार्फत बलिथुमका अधिकांश घरमा खानेपानी पुर्‍याइएको छ ।

स्थानीय सरकारले मात्रै लगानी गर्न नसक्ने काममा दातृ निकायको सहयोगबाट उक्त परियोजना सम्पन्न गरेर घरघरमा खानेपानीको सुविधा पुगेको उपाध्यक्ष तारा थापा ढेँगा बताउँछन् ।