Sunday, March 29

योगेशले भने– हामीले उठाएको पार्टी पुनर्गठन मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त छ

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफूहरूले उठाएका पार्टी पुनर्गठनको मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यो मुद्दा निकट भविष्यमै पार्टी पंक्तिबाट पनि अनुमोदन हुने बताएका हुन्।

‘हामीले पार्टीको अन्तरसंघर्ष आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौं। म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नो तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ र निकट भविष्यमै पार्टी पंक्तिबाट पनि अनुमोदन हुने छन्।’

Advertisement

यति बेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिएको उनले बताएका छन्।

‘यो बेला हामीले गम्भीर समीक्षा गरी सही निकास दिनुपर्ने छ। यसका लागि धीरता अनिवार्य छ,’ उनले भनेका छन्, ‘हामीले उपर्युक्त कार्यभार पूरा गर्न नेकपा एमालेको ११ औं महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय अघि सारेका थियौं। हाम्रो प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चारजगत, बुद्धिजीवी तथा आमजन समुदायको प्रयाप्त ध्यानाकर्षण भएको छ। आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ।’