
नेपालअखबार,काठमाडौँ । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी नेतृत्वको सङ्घीय गणतान्त्रिक गठबन्धनले तराई मधेसमा बढ्दै गएको धार्मिक तथा जातीय द्वन्द्व नियन्त्रण गर्न माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएको छ । आज सिंहदरबार पुगेर गठबन्धनका प्रतिनिधिहरुले गृहमन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।
मधेसमा पछिल्लो समय केही उग्र, असामाजिक तथा आपराधिक तत्त्वहरूले योजनाबद्ध रूपमा धार्मिक अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्दै सामाजिक सद्भाव विखण्डन गर्न खोजिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस्ता गतिविधि केवल आपराधिक नभई राजनीतिक अस्थिरता सिर्जना गर्ने, गणतान्त्रिक व्यवस्था कमजोर बनाउने र देशलाई अराजकतर्फ धकेल्ने षड्यन्त्रको अंश भएको ज्ञापन पत्रमा उल्लेख छ ।
पुस २० गते धनुषाको कमला नगरपालिका–६ स्थित एक मस्जिदमा तोडफोड भएको थियो । सो मस्जिदमा जबरजस्ती प्रवेश गरी पवित्र कुरान पाक जलाइएको, इस्लामिक ग्रन्थहरू नष्ट गरिएको तथा मस्जिद र स्थानीय बासिन्दाको सम्पत्ति तोडफोड गरिएको घटना अत्यन्तै गम्भीर रहेको समेत ज्ञापन पत्रमा उल्लेख छ । गठबन्धनले ती गतिविधि संविधान विरोधी रहेका समेत निष्कर्ष निकालेको छ ।
उक्त घटनाले संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र धार्मिक अल्पसङ्ख्यक समुदायको सुरक्षामाथि प्रत्यक्ष आघात पुर्याएको ठहर गरिएको अध्यक्ष अन्सारीले बताए ।
राज्यले यस्ता घटनाका मुख्य योजनाकार र दोषीहरूलाई अझैसम्म पक्राउ गरी कारबाहीको दायरामा ल्याउन नसक्नुले सरकारको इच्छाशक्ति र प्रशासनिक क्षमतामाथि गम्भीर प्रश्न खडा भएको अध्यक्ष अन्सारीले बताए ।
सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरिसकेको अवस्थामा विद्यमान असुरक्षा र अस्थिरताले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्भव हुन्छ कि हुँदैन भन्ने विषयमा गम्भीर राजनीतिक प्रश्न उठेको उनले बताए । उनले निर्वाचनअघि नै शान्ति–सुरक्षा कायम गर्न नसके लोकतान्त्रिक प्रक्रियामै सङ्कट आउने चेतावनी समेत दिएका छन् ।
गठबन्धनले धनुषा घटनाको निष्पक्ष छानबिन, दोषीहरूमाथि कडा कानुनी कारबाही, धार्मिक अल्पसङ्ख्यक समुदायको जीवन, सम्पत्ति र धार्मिक स्वतन्त्रताको पूर्ण सुरक्षा सुनिश्चित गर्न पनि माग गरेको छ । दोषीमाथि कारबाही नभए आन्दोलनमा जाने चेतावनी समेत गठबन्धनले दिएको छ ।

