
नेपालअखबार,काठमाडौँ । वाईसीएल लगायत तीन वटा युवा सङ्गठनले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति मादुरो दम्पती नियन्त्रणमा लिएको घटनाप्रति भर्त्सना गरेका छन् ।
योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल ),युवा सङ्घ नेपाल र नेपाल समाजवादी युवा सङ्घले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आपराधिक घटनाको भर्त्सना गरेका हुन् ।
उनीहरुले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलाको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि गरिएको नाङ्गो सैन्य आक्रमण तथा निर्वाचित राष्ट्रपति दम्पतीलाई अपहरण गरी अमेरिका लगिएको आपराधिक घटनाप्रति नेपाली युवा सङ्गठनहरू घोर आपत्ति जनाउँदै कडा भर्त्सना गरेका हुन् ।
‘यो घटनाले अमेरिकी साम्राज्यवादको दादागिरी पूर्ण चरित्र र अन्तर्राष्ट्रिय कानुनप्रतिको तिरस्कारलाई स्पष्ट रूपमा उजागर गरेको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
‘यस्ता एकपक्षीय र हस्तक्षेपकारी कार्यहरू संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रहरूबिचको समानान्तर सह–अस्तित्वको सिद्धान्तको ठाडो उल्लङ्घन हुन्, जसले विश्वशान्ति र मानवअधिकारलाई गम्भीर खतरा पुर्याएको छ’, विज्ञप्तिमा भनिएकाे छ ।
साथै उनीहरुले अमेरिकालाई यस्ता अवैध र आक्रामक गतिविधि तुरुन्त बन्द गर्न माग समेत गरेका छन् । अन्तर्राष्ट्रिय समुदायलाई उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन युवाहरूको आग्रह छ ।


