Saturday, January 10

समानुपातिक बन्दसूचीमा परेका मिलन लिम्बुले लिए उम्मेदवारी फिर्ता

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा परेका मिलन लिम्बुले उम्मेदवारी फिर्ता लिएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लिम्बुले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

उनले भनेका छन्,’हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।’

Advertisement

उनले नेपालको संविधानमा सुनिश्चित समानुपातिक/समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार नै समानुपातिकतर्फ उम्मेदवारी दिएको समेत उनले बताए ।

उनले भने,’तर, एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आउनु भएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष छ । नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता–कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ ।’

रास्वपाकाे समानुपातिक बन्दसूचीप्रति तीव्र असन्तुष्टि बढेपछि बन्दसूचीमा परेका उम्मेदवारहरूले नाम फिर्ता लिनेक्रम जारी छ ।

यसअघि पनि सो पार्टीबाट डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ताकाे घोषणा गरिसकेका छन् ।

dg