Saturday, January 10

२२ किलो चरेससहित दुई जना पक्राउ

नेपालअखबार,पर्सा । पर्साको पोखरिया क्षेत्रबाट लागु औषध चरेससहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहीबार बिहान बिन्दवासिनी गाउँपालिका–२ अन्तर्गत गर्दील चोकदेखि पूर्व पोखरिया–वीरगन्ज सडक खण्डमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ मुडली बस्ने २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका–८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले बोकेको दुई वटा कालो झोला शङ्कास्पद देखिएपछि जाँच गर्दा झोलाभित्र पानी खाने १० लिटरका ग्यालन भेटिएका थिए । ग्यालनको मुखमा घिउ राखी तल लुकाएर राखिएको अवस्थामा चरेस फेला परेको प्रहरीले जनाएको छ ।

जाँचका क्रममा रैयस अलीले बोकेको ग्यालनबाट १० किलो ६०० ग्राम र मुनिलाल पटेलले बोकेको ग्यालनबाट ११ किलो ४०० ग्राम चरेस जस्तो पदार्थ बरामद गरिएको छ । यससँगै उनीहरूको साथबाट नगद ४ हजार ४ सय ५० रुपैयाँ र मोबाइल एक थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।