Friday, July 24

भेनेजुएलामा अमेरिकी आक्रमणमा सर्वसाधारणसहित कम्तीमा १ सय जनाको मृत्यु

नेपालअखबार,काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने उद्देश्यले अमेरिकाले गरेको आक्रमणमा कम्तीमा १०० जनाको ज्यान गएको छ। भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोसडाडो क्याबेलोले बुधबार अबेर यसको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका हुन्।

Advertisement

मन्त्री क्याबेलोका अनुसार आक्रमणमा १०० जना मारिनुका साथै सोही संख्यामा मानिसहरू घाइते भएका छन्। उनले मारिनेहरूमा द्वन्द्वसँग कुनै सरोकार नभएका सर्वसाधारण नागरिक र आफ्नै घरमा बसिरहेका महिलाहरू समेत रहेको बताएका छन्।

Advertisement
Advertisement

भेनेजुएलाको राजधानी र अन्य क्षेत्रमा खसालिएका शक्तिशाली बमका कारण ठुलो क्षति भएको बताइएको छ। यसैबिच, क्युबा सरकारले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त सैन्य अभियानका क्रममा आफ्ना ३२ जना नागरिक मारिएको जानकारी दिएको थियो। क्युबाली सशस्त्र बल र गृह मन्त्रालयको मिशनमा रहेका ती नागरिकहरू ‘लडाइँका क्रममा’ मारिएको दाबी क्युबाले गरेको छ।

Advertisement

यद्यपि, भेनेजुएलाले सार्वजनिक गरेको १०० जनाको मृत्युको तथ्याङ्कमा क्युबाली नागरिकहरू समावेश छन् वा छैनन् भन्नेबारे मन्त्री क्याबेलोले स्पष्ट पारेका छैनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उक्त आक्रमणमा कुनै पनि अमेरिकी सैनिकको ज्यान नगएको दाबी गरेका थिए । तर, आक्रमणका क्रममा एक हेलिकप्टरमा क्षति पुग्दा केही अमेरिकी सुरक्षाकर्मीहरू घाइते भएको उनले स्वीकार गरेका छन्।  –सीएनएन