Saturday, July 25

बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव हुने

नेपालअखबार,काठमाडौं । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी बजारमा माघे संक्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ ।

Advertisement

सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहनुभएका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनका अनुसार हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित बाहुनडाँगीमा चौथोपटक तरूल महोत्सव सञ्चालन हुन लागेको हो ।

Advertisement
Advertisement

महोत्सवमा प्रदर्शन गरिने तरुलजन्य १८ प्रकारका रैथाने खानेकुरा आकर्षण रहने आयोजकले जनाएको छ । युएनडिपी, इसिमोड, डब्ल्युडब्ल्युएफ, प्रकृति संरक्षण कोषलगायत गैरसरकारी संस्थाको सहयोगमा कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टाको सहभागितामा महोत्सव आयेजना हुने वडाध्यक्ष कार्कीले जानकारी दिए।

Advertisement

परम्परागत रूपमा उपभोग हुँदै आएका रैथाने खाना स्वस्थवर्द्धक  र पोषिलो हुने अध्ययनले देखाएका छन् । यसको महत्त्व दर्शाउन र पर्यटकीय चहलपहल बढाउन महोत्सव प्रभावकारी हुने अपेक्षा गरिएको आयोजक समितिका सचिव नीरज घिमिरेले बताए।

महोत्सव ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सवमा लोककलाकार डेजी बराइली र कमलिकान्त भेटवालको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ।