Sunday, July 26

नवलपुरमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु

नेपालअखबार,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन सुरु भएको छ । गैँडाकोट नगरपालिका–२ मा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा आजदेखि सुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ६ देशका अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।

Advertisement

सम्मेलनका संयोजक एवम् अक्सफोर्ड कलेजका अनुसन्धान विभाग प्रमुख प्राध्यापक डा‍‍. वसन्तप्रसाद अधिकारीका अनुसार यस दोस्रो अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलनमा दिगो विकास, हरित प्रविधि तथा बहुविषयक अनुसन्धानका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।

Advertisement
Advertisement

सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालयसहित, भारत, संयुक्तराज्य अमेरिका, इण्डोनेसिया, नेदरल्याण्डका विश्वविद्यालयका विज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ । ‘दिगो भविष्यको लागि नवप्रवर्तनः हरित प्रविधि र बहुविषयक अनुसन्धान प्रवृत्तिको उन्नति’ विषयमा दुई दिनसम्म सम्मेलन सञ्चालन हुने अधिकारीको भनाइ छ ।

Advertisement

सम्मेलनमा दिगो विकास र हरित प्रविधिमा आधारित अनुसन्धान प्रस्तुति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरुसँग अन्तरक्रिया, बहुविषयक अनुसन्धानका नयाँ प्रवृत्तिमाथि कार्यपत्र प्रस्तुति, अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी विचार विमर्श हुने उनले बताए  ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा प्रेमनारायण अर्यालले यस खालका कार्यक्रमले विश्वविद्यालय तथा अनुसन्धानकर्तालाई अनुसन्धानमा सहभागी हुन प्रोत्साहन गर्ने बताए । अनुसन्धानकर्ताले अनुसन्धानका क्रममा भोगेका र देखेका कठिनाइ तथा राम्रा कुराको विस्तारमा समेत अन्तरराष्ट्रिय सम्मेलनले सघाउने अर्यालयको भनाइ छ ।

हरेक विश्वविद्यालय र कलेजले आफ्नो बजेटको केही हिस्सा अनुसन्धानका लागि विनियोजन गर्नुपर्ने अर्यालको भनाइ छ । पोखरा विश्वविद्यालयले बर्सेनि अनुसन्धानका लागि बजेट विनियोजन गरी विभिन्न विषयमाथि अध्ययन अनुसन्धानमा खर्च गर्ने गरेको उपकूलपति अर्यालले बताए । अबको शिक्षा पनि अनुसन्धानमा केन्द्रित पार्न जोड दिँदै उनले अनुसन्धानले जीवन जीउने पद्दति सिकाउने बताए ।

कार्यक्रममा अक्सफोर्ड कलेजका प्रिन्सिपल प्राडा इञ्जिनियर हरि भण्डारीले कलेजले अनुसन्धानलाई प्राथमिकता दिँदै गत वर्षबाट अनुसन्धान सम्मेलन सुरु गरेको बताए । विभिन्न सङ्कायमा अध्यापन गराउँदै आएको अक्सफोर्ड कलेजको मुख्य उद्देश्य भनेको विद्यार्थीलाई अनुसन्धान केन्द्रित सीप प्रदान गर्दै भविष्यका लागि योग्य जनशक्ति तयार पार्नु भएको भण्डारीको भनाइ छ ।

दुई दिनसम्म चल्ने अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलनले शनिबार नवलपुर घोषणापत्र जारी गर्नेसमेत भण्डारीले बताए ।