Monday, July 27

एमालेबाट प्रदेश सदस्यमा उम्मेदवार लडेका गिरिराज केसी लगायत नेकपामा प्रवेश

नेपालअखबार,काठमाडौँ । २०७९ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा चुनाव लडेका नेता गिरिराज केसी सहितका व्यक्ति नेपाली कम्युनिष्ट पार्टीमा पार्टी प्रवेश गरेका छन्।

Advertisement

शुक्रबार काठमाडौंको ललितपुरस्थित नेता नारायण काजी श्रेष्ठको निवास हात्तीवनमा केसी सहितका एमालेका नेताहरू नेकपामा पार्टी प्रवेश गरेका हुन्।

Advertisement
Advertisement

केसी २०७९ को निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट दाङ निर्वाचन क्षेत्र २ (२) प्रदेश सभा सदस्यका उम्मेदवार थिए।

Advertisement

उनलाई नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पराजित गरेका थिए। केसी एमाले दाङका पहिचान बनाएका एक  पुराना नेता मानिन्थे। तर, पछिल्लो करिब ६ महिना पहिले केसी एमालेबाट विद्रोह गरी संयुक्त वाममोर्चा दाङको संयोजक समेत बनेका थिए।

केसीसँगै घोराही उपमहानगरपालिकाका पूर्वउपमेयर दामोदर अधिकारी पनि नेकपामा पार्टी प्रवेश गरेका छन्।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका – ११ का कालुराम चौधरी पनि एमाले त्यागेर नेकपामा प्रवेश गरेका छन्।

चौधरीको राजनीतिक पृष्ठभूमि पूर्वनेकपा माओवादीकै हो। उनलाई सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो। काठमाडौं कारागारमा थुनामै रहेको समयमा एमाले महासचिव शंकर पोखरेल लुम्बिनीको मुख्यमन्त्री छँदा राज्यबाट आममाफी पाएर चौधरी रिहा भएका थिए। त्यसपछि उनी एमालेमा पार्टी प्रवेश गरेका थिए।

नेकपाका केन्द्रीय सदस्य तथा हाल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारका लागि सिफारिस गरिएका निर्मल आचार्यका अनुसार एमाले दाङबाट विद्रोह गरेकामध्ये दुर्गादत्त शर्मा, पिताम्बर आचार्य, आरडी यादव, केबी चौधरी पनि नेकपामा पार्टी प्रवेश गरेका हुन्।

उनीहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका थिए।