
नेपालअखबार,काठमाडौं । तीन वटै सुरक्षा निकायका अधिकारीहरूले भयरहित र सुरक्षित रूपमा निर्वाचन गराउन पूर्णरूपमा तयार रहेको बताएका छन् । यसका लागि आवश्यक काम भइरहेको उनीहरूको ब्रिफिङ छ ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शुक्रबार निर्वाचन तयारीबारे सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । सिंहलरबारस्थित समितिको सभाकक्षमा भएको छलफलमा सहभागी सुरक्षा निकायका प्रतिनिधिहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका हुन् ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको छ । सोही योजनाअनुसार आपसि समन्वय र सहकार्यमार्फत अघि बढिरहेको उनीहरूको भनाइ रहेको छ ।
बैठकमा बोल्दौ नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलुकको अपरिहार्य आवश्यक रहेको बताए । यसका लागि नेपाली सेना तयार रहेको उल्लेख गर्दै उनले निर्वाचचनको क्रममा हुनसक्ने सुरक्षा खतराहरुको विश्लेषण गरी आवश्यक गृहकार्य भइसकेको जानकारी दिए ।
विगतका अधिकांश बारुदी सुरुङ तथा विस्फोटक पदार्थहरु नष्ट भइसकेको भन्दै उनले कहीँकतै फेला परेमा सूचना आदानप्रदानका आधारमा बम डिस्पोजल टोली परिचालन गरिने जानकारी दिए ।
‘हामीले अगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी जानुपर्छ । निर्वाचन सम्पन्न गराउनु पनि आवश्यक छ,उनी भन्छन्, ‘मुख्य थ्रेटको रूपमा बारुदी सुरुङ तथा विस्फोटक पदार्थ नै रहेको लागिराखेको होला । यसको लागि हामी सुरक्षा निकायहरुले पनि आवश्यक गृहकार्य गरिराखेका छौँ ।’
निर्वाचनअगाडि सुरक्षा चुनौती हुनसक्ने वर्गलाई आवश्यक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने उनको भनाइ छ ।
‘बालबालिका, महिला, किसानलक्षित वर्गलाई हामी माइण्डसेट एजुकेशन दिने नै छौँ,’ उनले भनेका छन्, ‘विगतका बारुदी सुरुङ विस्फोटक पदार्थहरु नष्ट भइसकेका छन् । यदि कँहीकतै भेटिएको अवस्थामा सूचना आदानप्रदान पनि गर्नुपर्छ ।’
उनका अनुसार निर्वाचनलाई लक्षित गरेर सानो सानो टुकडीमा संवदेशीलताको आधारमा वर्गीकरण गरेर परिचालन पनि गरिएको छ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)उमाप्रसाद चतुरर्वेदीले विस्फोटक पदार्थ भेटिनुभन्दा पनि नयाँ बम बनाउने मानसिकता झनै खतरनाक रहेको बताए । ‘भेटिएको बम डिस्पोज गर्नुभन्दा पनि नयाँ बम बनाउने मानसिकता खतरनाक हो । सबैले त्यो मानसिकता नत्यागेसम्म देश सुरक्षित रहने अवस्था हुदैन’ उनले भने ।
विभिन्न आन्दोलनहरुमा पेट्रोल बम विस्फोट गराउने तथा केमिकल लगाएर ध्वस्त पार्ने मानसिकता नै सबैभन्दा खतरनाक मानसिकता भएको पनि उनले बताए ।
साथसाथै, आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दुरीका गस्तीहरू निरन्तर सञ्चालन भइरहेको जानकारी दिए । आपराधिक गतिविधि नियन्त्रण र फरार कैदीबन्दी खोजीका लागि समिति नै गठन गरी काम भइरहेको पनि बताए ।
उनका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को बैठकले एकीकृत सुरक्षा योजना पास गरिसकेको अवस्था छ । त्यो एकीकृत सुरक्षा योजनाबमोजिम चारवटै सुरक्षा निकाय परिचालित भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित ढंगले सम्पन्न गर्नको तीनवटै सुरक्षा निकायले भरपर्दो समन्वय गरेर जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दुरीको गस्तिहरु हामीले निरन्तर परिचालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा सक्रिय रहेको बताए । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गरिने दृढता पनि व्यक्त गरे ।
‘तीन वटै सुरक्षा निकायहरु एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा लागेका छौँ’ उनले भने, ‘हाम्रो शक्तिले नभ्याउने चिजलाई निर्वाचन प्रहरीमार्फत पनि गराउने भनेर हिजोदेखि नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप्ने भनेर प्रक्रिया शुरु भएको छ ।’
संसदीय समितिको बैठकमा तीन वटै सुरक्षा निकायका प्रतिनिधिहरुले आपसी समन्वय, अतिरिक्त जनशक्ति र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

