Monday, July 13

उनीहरूलाई दस वर्ष लाग्यो आमाको नामबाट नागरिकता पाउन

नेपालअखबार,म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।

Advertisement

जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो।

Advertisement
Advertisement

नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए।

Advertisement

नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।

समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने उनका श्रीमान् सलिम खान भारतको कलकत्ताका छन्।

३४ वर्षअघि विवाह भए पनि मनिरजा बेनीमा शृङ्गार व्यवसाय गर्दै आएकी छन्। श्रीमान् सलिमले भारतको नागरिकता त्याग गरिसकेका छन्।

उनले विसं २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताए।

समीर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता छ। दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो।

नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको समीर र यास्मिनको भनाइ छ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो।

यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो।