Wednesday, March 4

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

नेपालअखबार,मुस्ताङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये मुस्ताङमा ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन्।

Advertisement

यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार यहाँ निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय थपिएको थियो।

यहाँ नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी संख्या माग गरिएकामा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए।

यहाँ आवेदन दिन म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट आएका उनले बताए।