
नेपालअखबार, काठमाडौँ । नेपाल आयल निगमले पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास अभावसम्बन्धी सार्वजनिक गुनासो र सञ्चारमाध्यमका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निगमले बजारलाई सामान्य अवस्थामा फर्काउन तत्काल कदम चाल्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपिल गरेको छ ।
निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेशनबाट देशभरका उद्योगहरूलाई मासिक रूपमा उपलब्ध गराइने एलपी ग्यासको नियमित कोटा ४९,५०० मेट्रिक टन रहेको छ ।
निगमले माग धान्न पुग्ने परिमाणमा ग्यास आयात भएको दाबी गर्दै विगतका तीन महिनाको आयात विवरण सार्वजनिक गरेको छ ।
निगमकाअनुसार नोभेम्बर २०२५ ४७,२६४ मेट्रिक टन ग्यास आयात भएको छ । यसैगरी डिसेम्बर २०२५ मा ४८,५३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७,३०४ मेट्रिक टन आयात भएको छ ।
निगमले यो परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको भए पनि बजारको हालको अवस्था र आसन्न निर्वाचनलाई समेत मध्यनजर गर्दै उपभोक्तालाई थप सहजता प्रदान गर्नका लागि फेब्रुअरी २०२६ का लागि नियमित कोटामा २ हजार मेट्रिक टन ग्यास थप गरेको जानकारी दिएको छ ।
थप कोटासहितको ‘बोटलर्स वाइज एलोकेसन’ इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टहरूमा पठाइसकिएको निगमले जनाएको छ ।
हाल बजारमा ग्यास सिलिन्डरको अभाव केही एकाध उद्योगहरूको हकमा मात्र देखिएको निगमको भनाइ छ ।
ती उद्योगहरूलाई बजारमा सिलिन्डरको आपूर्ति सहज बनाई बजारलाई तत्काल सामान्यीकरण गर्न निर्देशन दिइएको र केही समयभित्रै आपूर्ति सामान्य हुने जानकारी आम उपभोक्तालाई गराइएको छ ।
निगमले आम उपभोक्ताहरूलाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र ग्यासको अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गरेको छ ।


