Tuesday, February 10

कास्की क्षेत्र नं १ मा घरदैलोमा व्यस्त राजकाजी

नेपालअखबार,पोखरा। नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. १ का उम्मेदवार राजकाजी गुरुङले पोखरा महानगरपालिका वडा नं. २९ अन्तर्गत विभिन्न टोल र बस्तीहरूमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमअन्तर्गत मिलन आमा समूह, सैनिक बस्ती नवदुर्गा आमा समूह, दुर्गा आमा समूहलगायत विभिन्न आमा समूहहरूसँग भेटघाट गरिएको थियो।

भेटघाटका क्रममा नवदुर्गा आमा समूहकी उपाध्यक्ष बबिता गुरुङले राष्ट्रलाई सही दिशातर्फ लैजान तमु समुदायबाट राजकाजी गुरुङलाई जिताउन आमा समूहले मत दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आमा समूहहरूले सामुदायिक भवन तथा खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न अनुरोध गर्दै सुशासनका लागि कहिल्यै सम्झौता नगर्न सुझाव दिएका थिए।

Advertisement

घरदैलो कार्यक्रम नमुना आमा समूह, जलकुनी आमा समूह, परिवर्तन आमा समूह, शान्ति टोल विकास संस्था, बिरौटा आमा समूह, पिपलडाली आमा समूहलगायतका स्थानहरूमा पनि सम्पन्न भएको थियो।

कार्यक्रममा ५५ वर्षीया चिजकुमारी सुनारले सुकुम्बासीलाई लालपुर्जा दिने विषयमा चुनावका बेला मात्रै आश्वासन दिने तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति गुनासो व्यक्त गर्दै उम्मेदवार राजकाजी गुरुङले सुकुम्बासीको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

त्यसैगरी पूर्व सांसद दीपक कोइरालाले राजकाजी गुरुङलाई विकासप्रेमी, डाइनामिक र मन्त्री बन्ने सम्भावना बोकेका नेताको रूपमा उल्लेख गर्दै मतदान गरेर जिताउन आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज नाथ बरालले जनताको माया पार्टीलाई प्राप्त भएकै कारण राजकाजी गुरुङको जित सुनिश्चित हुने दाबी गर्नुभयो। कमल गुरुङले पनि राजकाजी गुरुङलाई मत दिन सबै एकजुट भएर लागिपरेको बताउनुभयो।
उम्मेदवार राजकाजी गुरुङले जनताका आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा र रोजगारीको प्रभावकारी डेलिभरीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै दलित, सुकुम्बासी, गुरुङ, अल्पसंख्यक, पिछडिएका वर्ग, महिला र अशक्तको पक्षमा कानुन निर्माण र विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सुवेदार वीरबहादुर गुरुङले भिजन भएका नेता राजकाजी गुरुङलाई जिताउन सम्पूर्ण समाज लाग्नुपर्नेमा जोड दिनुभयो।