Tuesday, February 10

विकासे मन्त्रालयहरूकै बजेट खर्च दयनीय

नेपालअखबार,काठमाडौं । ठूलो बजेट ओगटेका विकासे मन्त्रालयहरू नै बजेट खर्चमा दयनीय अवस्थामा रहेको देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार सहरी विकास मन्त्रालयले पुस मसान्तसम्म ६.३१ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।

Advertisement

यस वर्ष सहरी विकास मन्त्रालयले ९१ अर्ब ३५ करोड रुपैयाँ बजेट ओगटेको छ । खर्च भने ५ अर्ब ७६ करोडमात्र गर्न सकेको छ । उता, अर्को ठूलो बजेट ओगट्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १८.१२ प्रतिशतमात्र खर्च भएको छ । यस मन्त्रालयले चालु आव कुल १ खर्ब ५३ अर्ब रुपैयाँ बजेट ओगटेको छ । खर्च भने २७ अर्ब ८७ करोडमात्र भएको छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अर्को ठूलो बजेट ओगटेको मन्त्रालय हो । यो मन्त्रालयको ६ महिनाको खर्च १६.५६ प्रतिशतमात्र छ । ४२ अर्ब ७७ करोडको बजेट राखेको यस मन्त्रालयले ७ अर्बमात्र खर्च गर्न सकेको देखिन्छ ।

प्रतिशतका हिसाबमा सबैभन्दा धेरै बजेट खर्च परराष्ट्र मन्त्रालयले गरेको छ । सो मन्त्रालयले ६ महिनामै ५५.८० प्रतिशत बजेट खर्च गरिसकेको तथ्यांक छ ।

अर्थ मन्त्रालय स्वयंले ६ महिनामा ३५.५४ प्रतिशत बजेट खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३२.९८ प्रतिशत बजेट खर्च गरेको अर्थ मन्त्रालयको तथ्यांक छ । ्

मन्त्रालयगत बजेट खर्च विवरण (२०८२/८३)

सि.नं मन्त्रालय / निकाय विनियोजित बजेट (हजारमा) खर्च (हजारमा) खर्च प्रतिशत (%)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ५४,६५६ १८,०२३ ३२.९८
अर्थ मन्त्रालय ३,९५,०६७ १,४०,४१० ३५.५४
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ८९,५१९ ७,५९६ ८.४८
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय ४,२७,७१५ ७०,८३२ १६.५६
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय ५,३९४ १,६८४ ३१.२३
कृषि तथा पशुपन्छी विकास मन्त्रालय ५,०७,०२९ २,१७,८२७ ४२.९६
खानेपानी मन्त्रालय २,०७,२९८ २४,७७८ ११.९५
गृह मन्त्रालय २१,१७,५८२ ८,९१,७९९ ४२.११
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ७६,७२२ १०,१९१ १३.२८
१० परराष्ट्र मन्त्रालय ९०,१७१ ५०,३१७ ५५.८०
११ वन तथा वातावरण मन्त्रालय १,२१,८३२ ३५,९८८ २९.५४
१२ भूमिसुव्यवस्था, सहकारी तथा गरिबी निवारण ७४,१४१ २७,३६९ ३६.९१
१३ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १५,३७,८६८ २,७८,७२८ १८.१२
१४ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय १५,३२८ ३,१३९ २०.४८
१५ युवा तथा खेलकूद मन्त्रालय ५७,२२९ ७,६५१ १३.३७
१६ रक्षा मन्त्रालय ६,३३,०६९ २,९०,४५५ ४५.८८
१७ शहरी विकास मन्त्रालय ९,१३,५०४ ५७,६६७ ६.३१
१८ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ६,०५,७०६ २,८१,००२ ४६.३९
१९ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ७८,९१९ २५,४०० ३२.१९
२० संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ७५,४०२ ११,०२५ १४.६२
२१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ५,६३,३३५ १,८६,३७५ ३३.०८
२२ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय १६,३७१ २,५४८ १५.५६
२३ राष्ट्रिय योजना आयोग १,७०८ ६९८ ४०.८७