Sunday, March 8

विष प्रयोग गरी पुटिनले आफ्ना कट्टर आलोचक नाभाल्नीलाई मारेको युरोपेली मुलुकहरूको आरोप

नेपालअखबार,काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना आलोचक एलेक्सी नाभाल्नीलाई विष प्रयोग गरी मारेको भनेर युरोपका पाँच देशहरूले आरोप लगाएका छन्।

बेलायत, फ्रान्स, जर्मनी, स्वीडेन र नेदरल्याण्ड्सका विदेश मन्त्रीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी नाभाल्नीको मृत्यु विष प्रयोगबाट भएको र त्यसो गर्न सक्ने शक्ति रूसी सरकारसँग मात्रै रहेको बताएका हुन्।

Advertisement

नाभाल्नी रूसका प्रमुख विपक्षी नेता थिए। उनी रूसी राष्ट्रपति पुटिनको कट्टर आलोचक थिए।

पुटिन शासनमा भएका भ्रष्टाचारबारे अनुसन्धान गरेपछि रूसभरि पुटिनविरूद्ध आक्रोश फैलिएको थियो।

जर्मनीबाट उपचारपश्चात फर्किएपछि  सन् २०२१ मा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो। जेलमै रहँदा सन् २०२४ मा उनको मृत्यु भएको थियो।

युरोपेली देशहरूले उनको मृत्यु प्राकृतिक नभई अमेरिकामा पाइने विषालू भ्यागुतोबाट निकालिने एपिबाटिडिन नामको रसायन प्रयोग गरी मारिएको हुन सक्ने आरोप लगाएको अमेरकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

उनीहरुले नाभाल्नीको शरीरबाट लिइएको नमूनामा उक्त विषालु पदार्थ भेटिएको दाबी गरेका छन्।

वक्तव्यअनुसार ‘एपिबाटिडिन’ दक्षिण अमेरिकामा पाइने पोइजन डार्ट फ्रगमा भेटिने विष हो र यो रुसमा प्राकृतिक रूपमा पाइँदैन।

‘रुसमै कैदमा रहेका बेला नाभाल्नीविरुद्ध यस्तो घातक विष प्रयोग गर्ने साधन, उद्देश्य र अवसर केवल रुसी सरकारसँग मात्रै थियो,’ संयुक्त वक्तव्यमा भनिएको छ।

रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखरोवाले भने पश्चिमी देशहरूले अन्य समस्याबाट ध्यान मोड्नका लागि त्यस्तो आरोप लगाएको बताएकी छन्।

उनले विस्तृत परीक्षण प्रतिवेदन नहेरेसम्म विस्तृत टिप्पणी नगर्ने बताएकी छन्।

युरोपेली संघकी अध्यक्ष उर्सुला भोन देर लियनले पनि नाभाल्नीको मृत्युलाई कायरतापूर्वक कदम भनेकी छन्।

उनले राष्ट्रपति पुटिनको शासनमा राजनीतिक विरोधीलाई विष प्रयोग गरी हटाउने प्रवृत्ति देखिएको आरोप लगाएकी छन्।

नाभाल्नीकी पत्नी युलियाले  म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै युरोपेली देशहरूको निष्कर्षले आफ्नो दाबीलाई पुष्टि गरेको बताएकी छन्।

‘भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गरेर मेरा पति अलेक्सेई नाभाल्नीको हत्या गरेका हुन्,’ उनले भनिन्।

नाभाल्नीलाई सन् २०२० मा पनि विष प्रयोग गरी हत्याको प्रयास गरिएको थियो। त्यतिबेला उनको अन्डरवेयरमा विष राखिदिएपछि नाभाल्नी बिरामी परेका थिए।

त्यतिबेला कोमामा पुगेका उनलाई उपचारका लागि जर्मनी लगिएको थियो। निको भएपछि स्वदेश फर्कने क्रममा उनी विमानस्थलबाट पक्राउ परेका थिए।

क्रेमलिनले त्यतिबेला नाभाल्नीलाई अमेरिकी गुप्तचर संस्था सिआईएको एजेन्ट भनेर आरोप लगाएको थियो।

त्यस घटनापछि सम्बन्धित रुसी अनुसन्धान संस्थामाथि युरोपेली संघले प्रतिबन्ध लगाएको थियो।

नाभाल्नीको मृत्युबारे रुसी अनुसन्धान समितिले आपराधिक अनुसन्धान गर्न अस्वीकार गरेको छ। समितिले उच्च रक्तचाप, दीर्घकालीन हेपाटाइटिस र मुटुसम्बन्धी समस्यालाई मृत्युको कारण बताएको थियो। तर नाभाल्नीका पूर्वचिकित्सकले उक्त निष्कर्षलाई अस्वीकार गरेका थिए।

नाभाल्नी सन् २०२१ मा पक्राउ परेपछि लामो जेल सजाय भोगिरहेका थिए।

कडा कारागार जीवनका बीच पनि उनले सामाजिक सञ्जालमार्फत सक्रियता कायम राखेका थिए भने उनका सहयोगीहरूले विदेशबाट रुसी अभिजात वर्गको भ्रष्टाचारसम्बन्धी अनुसन्धान सार्वजनिक गर्दै आएका थिए।