Sunday, September 13

देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न सकिँदैन : गगन थापा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताएका छन् । आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा आइतबार सभापति थापाले मुलुक चलाउन सबैलाई मिलाउने सफ्ट भाषा बोल्नेले मात्रै सक्ने बताए ।

Advertisement

‘देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा बोल्नेले सक्दैन । मुलुक चलाउन एक्लै सकिँदैन । टिम चाहिन्छ,’ सभापति थापाले भने, ‘संसारभर कोलाहल र हल्ला मच्चाउनेहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन् । उनीहरूले घृणाको भाषा बोलिरहेका हुन्छन् । घृणा र उत्तेजनाले मुलुक चल्दैन, मिलाउनुपर्छ ।’

Advertisement
Advertisement

उनले निर्वाचनमा सोमबारसम्म प्रचारप्रसार गर्दा उत्तेजना र घोचपेचको भाषा कसैलाई पनि प्रयोग नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । पार्टीको नीति घोचपेच र उत्तेजनाको भाषा चुनावी प्रचारप्रसारमा नगर्ने रहेको सभापति थापाको भनाइ थियो ।

Advertisement

‘मैले साथीहरूलाई भनेको थिए, फेरि पनि भन्छु, चुनाव प्रचार प्रसारका क्रममा उत्तेजनाको भाषा प्रयोग नगरौँ, घोचपेच नगरौँ,’ थापाले भने, ‘प्रचारप्रसारका क्रममा आफ्ना एजेन्डा प्रस्तुत गर्ने हो, सिद्धान्त प्रस्तुत गर्ने हो । योजना प्रस्तुत गर्ने हो । हामीले निर्वाचनमा प्रतिज्ञापत्र ल्याएका छौँ । त्यसैलाई बुझाउने प्रयास गर्नुस् ।’

आफूले योजना र एजेन्डाबारे प्रधानमन्त्रीका उम्मेदवारबिच बहस होला, बहसमा प्रतिस्पर्धा होला भन्ने सोचेको भए पनि त्यो हुन नसकेको बताए ।