Saturday, April 11

नयाँ बर्षको अवसरमा आयोजित रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा

नेपालअखबार,पोखरा । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ।

पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा यही चैत २८ गते हुने प्रतियोगिताबारे शनिबार फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

Advertisement

पाँच किलोमिटर दूरीको उक्त दौड सोही दिन बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर समापन हुनेछ।

कार्यक्रमका संयोजक दीननाथ बरालका अनुसार रात्रिकालीन व्यवसाय प्रवर्द्धन, शान्ति–सुरक्षा सन्देश प्रवाह तथा खेलकुदमार्फत पर्यटन विस्तार गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो। “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने नारासहितको यो कार्यक्रमले सहरलाई २४ सै घण्टा सुरक्षित र सक्रिय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास उनले व्यक्त गरे।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रात्रिकालीन दौड नयाँ अवधारणा भएको उल्लेख गर्दै यसले सहरका विभिन्न क्षेत्रलाई एकीकृत रूपमा जोड्ने माध्यम बन्ने बताए। यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गण्डकी प्रदेशमै पहिलोपटक हुन लागेको यस प्रकारको प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवा नववर्ष महोत्सवसँग सहकार्य गर्दै विदेशी धावकको सहभागिता सुनिश्चित गर्न पहल गरिने जानकारी दिए।

फिस्टेल ड्रिम पार्कका निर्देशक कमल बस्नेतले पार्कमा नयाँ संरचना थपिएको उल्लेख गर्दै उत्कृष्ट २० धावकलाई पार्क प्रवेश टिकट प्रदान गरिने बताए। पार्कका मार्केटिङ म्यानेजर कृष्णप्रसाद ढकालले करिब ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिए।

केन्द्रका उपाध्यक्ष असफल गौतमले नयाँ वर्ष लक्षित कार्यक्रमको कमी भइरहेका बेला यस प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने बताए। रेस डाइरेक्टर ओम गुरुङले प्राविधिक तयारी तीव्र रूपमा अघि बढिरहेको जनाउँदै ट्राफिक व्यवस्थापनमा स्थानीयको सहयोग अपरिहार्य रहेको बताए।

केन्द्रका सचिव सागर सुनारका अनुसार खेलाडी दर्ता प्रक्रिया जारी रहेको छ। इच्छुक सहभागीले चैत २५ गते बिहान ११:५९ बजेसम्म पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत नाम दर्ता गर्न सक्नेछन्।

प्रतियोगितामा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। खुलातर्फ विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। सहभागी धावकलाई बिमा सुविधा, रिफ्लेक्टिभ टिसर्ट र हेडल्याम्प प्रयोगको सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।

करिब सात लाख रुपैयाँ लागतमा सम्पन्न हुने यो प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, वडा नम्बर ९ को समन्वय तथा विभिन्न संघ–संस्थाको सहयोगमा आयोजना हुँदैछ।

आयोजकका अनुसार यस प्रतियोगिताले सहरको गतिशीलता, सुरक्षित वातावरण र स्वस्थ जीवनशैलीप्रतिको सन्देश प्रवाह गर्दै नयाँ वर्षमा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।