
नेपालअखबार, तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेको केही घण्टा नबित्दै इजरायलले लेबनानमाथि गरेको अहिलेसम्मकै भीषण आक्रमणले पश्चिम एसियामा शान्तिको आशालाई अनिश्चित बनाएको छ।
बुधबार इजरायली सैन्य विमानहरूले लेबनानका विभिन्न क्षेत्रमा बमबारी गर्दा २५४ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। यो आक्रमणपछि इरानले अमेरिकासँग हुने भनिएको स्थायी शान्ति सम्झौताको वार्तामा सहभागी हुनु ‘औचित्यहीन’ हुने चेतावनी दिएको छ।
इरानी संसदका सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर कलिबाफले इजरायलले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार एकातिर इजरायलले हिजबुल्लाहमाथि समान्तर युद्ध चर्काइरहेको छ भने अर्कोतिर अमेरिकाले इरानलाई आफ्नो आणविक महत्त्वाकाङ्क्षा त्याग्न दबाब दिएर सम्झौताको मर्मविपरीत काम गरिरहेको छ। यस्तो परिस्थितिमा यसै हप्ताको अन्त्यदेखि सुरु हुने भनिएको शान्ति वार्ताको भविष्य अन्योलमा परेको छ।
युद्धविरामको दायरालाई लिएर अमेरिका, इजरायल र इरानबिच स्पष्ट मतभेद देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुई हप्ते युद्धविराम लेबनानको हकमा लागू नहुने स्पष्ट पारेका छन्।

भान्सले इरानी पक्षले युद्धविराममा लेबनान पनि समेटिएको भनी गलत बुझाइ राखेको टिप्पणी गरेका छन्। यता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसहित १३ युरोपेली राष्ट्र, जापान र क्यानडाले भने इजरायली आक्रमणको भर्त्सना गर्दै लेबनानलाई पनि युद्धविराममा समेट्नुपर्ने माग गरेका छन्।
आणविक मुद्दामा पनि दुवै पक्षका दाबीहरू बाझिएका छन्। राष्ट्रपति ट्रम्पले इरान युरेनियम प्रवर्द्धन रोक्न र मौज्दात नष्ट गर्न सहमत भएको सामाजिक सञ्जालमार्फत दाबी गरेका छन्। तर, इरानी वार्ताकार कलिबाफले भने युद्धविरामको सर्तअनुसार इरानले युरेनियम प्रवर्द्धन जारी राख्न पाउने अडान राखेका छन्।
युद्धको प्रभाव विश्व बजारमा पनि देखिएको छ। युद्धविरामको खबरले तेलको मूल्यमा १४ प्रतिशतको गिरावट आए पनि इरानले हर्मुज जलसन्धि र साउदी अरबका तेल पाइपलाइनहरूमा गरेको अवरोधले ऊर्जा सङ्कटको जोखिम कायमै राखेको छ। इजरायलले आफू ट्रिगरमा औँला राखेर बसेको र जुनसुकै बेला युद्धमा फर्कन सक्ने धम्की दिएपछि लेबनान र आसपासका क्षेत्रमा त्रास फैलिएको छ। हिजबुल्लाहले पनि इजरायली उल्लङ्घनको जवाफमा उत्तरी इजरायलमा रकेट प्रहार गरेको छ।

पाँच हप्ता लामो यो युद्धमा दुवै पक्षले आफ्नो जित भएको दाबी गरे पनि मुख्य विवादहरू अझै सुल्झिएका छैनन्। फेब्रुअरी २८ मा ट्रम्प र नेतान्याहुले इरानी शासन सत्ता ढाल्ने र आणविक कार्यक्रम अन्त्य गर्ने उद्देश्यका साथ सुरु गरेको यो सैन्य अभियानले इरानको शक्तिलाई खासै कमजोर बनाउन नसकेको विश्लेषण गरिएको छ।
तेहरानका सडकमा मानिसहरूले युद्धविरामको खुसीयाली मनाए पनि इजरायल र ट्रम्पको अस्थिर नीतिका कारण यो शान्ति दिगो हुनेमा उनीहरू स्वयं विश्वस्त देखिँदैनन्।

