Sunday, July 5

२५ वर्षमै उपसभामुख बन्ने तयारीमा रुबीकुमारी ठाकुर 

नेपालअखबार, काठमाडौं । श्रम–संस्कृति पार्टीकी युवा समानुपातिक सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने निश्चितप्रायः भएपछि यतिबेला राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिएको छ। विभिन्न दलहरूबीच सहमति जुट्दै गएको र विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन घोषणा गरेपछि ठाकुरको उम्मेदवारी बलियो बनेको हो।

Advertisement

२५ वर्षीया ठाकुरको राजनीतिक उचाइसँगै उनको लोकप्रियता पनि तीव्र रूपमा बढिरहेको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म उनको नाम व्यापक रूपमा उठ्न थालेको छ। यसक्रममा स्वतन्त्र छविका लागि परिचित धरान उपमहानगरपालिकाका मेयर तथा श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सँग तुलना हुँदै उनलाई ‘नयाँ पुस्ताको प्रभावशाली अनुहार’का रूपमा हेरिन थालिएको छ।

Advertisement
Advertisement

यस राजनीतिक उचाइमा पुग्न ठाकुरलाई पार्टी अध्यक्ष साम्पाङको महत्वपूर्ण भूमिका रहेको विश्लेषण गरिएको छ। श्रम, पारदर्शिता र वैकल्पिक राजनीतिक अभ्यासलाई प्राथमिकता दिने साम्पाङले युवालाई नेतृत्वमा अघि ल्याउने रणनीतिअनुसार ठाकुरलाई समानुपातिक सांसदको रूपमा अघि सारेका थिए। उनको नेतृत्वशैली र समर्थनले ठाकुरको राजनीतिक यात्रा तीव्र गतिमा अघि बढ्न सहयोग पुगेको बताइन्छ।

Advertisement

धनुषा जिल्लाको साधारण परिवारमा जन्मिएकी ठाकुरको बाल्यकाल संघर्षपूर्ण रह्यो। परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरदेखि जिम्मेवारी वहन गर्नुपरेको थियो। उनको परिवारमा चार बहिनी र दुई भाइ छन्, जसको जिम्मेवारी लामो समयसम्म उनको काँधमा रह्यो। उनका पिता सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि हाल पनि साउदी अरबमा छन् भने आमा रेणु ठाकुर गृहिणी हुन्। परिवारको जीविकोपार्जन दुई विघा अधियाँमा गरिएको खेती र वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा निर्भर रहँदै आएको छ।

शैक्षिक रूपमा पनि उनले संघर्षकै बाटो तय गरिन्। उनले २०७४ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट तीन वर्षे इन्जिनियरिङ अध्ययन पूरा गरेकी हुन्। प्राविधिक शिक्षा हासिल गरेपछि उनी ‘वस्तु आर्किटेक्चर कन्सल्टेन्सी’ क्षेत्रमा संलग्न भई मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्ने गर्थिन्। राजनीतिमा प्रवेशसँगै ठाकुरले श्रम र संस्कृतिमा आधारित राजनीतिक विचारलाई प्राथमिकता दिँदै अघि बढेकी छन्। उपसभामुख जस्तो महत्वपूर्ण पदमा पुग्ने तयारीसँगै उनले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै समावेशिता, सामाजिक न्याय र सुशासनका मुद्दालाई थप सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।