Saturday, April 18

चित्लाङ–थानकोट सडकमा मोटरसाइकल दुर्घटना : दुई जना घाइते

नेपालअखबार, काठमाडौं । मकवानपुरको चित्लाङबाट थानकोटतर्फ आउँदै गरेको एक मोटरसाइकल थानकोटस्थित गोदाम नजिकैको चुनिखेल सडक खण्डमा दुर्घटनामा परेको छ। मंगलबार साँझ भएको उक्त दुर्घटनाले स्थानीय क्षेत्रमा केहीबेर त्राससमेत सिर्जना गरेको थियो।
प्रत्यक्षदर्शीका अनुसार प्रदेश ३–०२–००४ प ७८०० नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। सडकको मोड र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनापछि स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएका थिए।
घाइतेहरूको चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था मध्यम रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको छ। साथै, उक्त सडक खण्डमा सवारी चलाउँदा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

Advertisement