Tuesday, April 21

पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेविसंघको माग

नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने  क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेपाल विद्यार्थी (नेवि) संघले माग गरेको छ ।

नेविसंघका कार्यवाहक सभापति नविन पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

Advertisement

विरोध लोकतन्त्रको आत्म भएको भन्दै नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल निःसर्त रिहा गर्नुपर्ने माग गरेको हो ।

पक्राउ परेका विद्यार्थीहरूलाई अविलम्ब रिहा नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी उसले दिएको छ ।

गृहमन्त्री गुरुङको सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने, सत्यतथ्य स्पष्ट पार्न तथा तत्काल राजीनामा दिई निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुपर्ने नेविसंघले माग गरेको छ ।

गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने क्रमममा नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट,सीटीईभीटी अध्यक्ष कुम्मरोज देउवा तथा विद्यार्थी नेताहरू नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विसाल बिसीलाई पक्राउ गरेको नेविसंघले जनाएको छ ।